डीएभी कर्पोरेट फुटसल सम्पन्न : खेलमार्फत उद्योग र शिक्षाबीचको सहकार्यलाई मजबुत बनाउँदै

ललितपुर । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ ले उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई खेलकुदमार्फत सशक्त बनाएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालित प्रतियोगितामा बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए । प्रतियोगिताले मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । भव्य उद्घाटन समारोहमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवास, ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्मा र डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदको भूमिका, सहकार्य र व्यावसायिक एकताका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेल डिश होम र कोड हिमालयबीच रोमाञ्चक रूपमा सम्पन्न भयो। डिश होम विजेता बन्दै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने कोड हिमालय उपविजेता बन्दै ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल जित्न सफल भयो । सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। डीएभी बिजनेस स्कुलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।  सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि बोल्दै खेलाडी भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् । मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर शुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताए । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताए ।  कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरे । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताए । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिवद्धता जनाए । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखे । 

विकासन्युजमा समाचार आएपछि एनपीएलएको आयव्यय सार्वजनिक गर्न बाध्य भयो क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  नेपाल प्रिमियर लिग (एनपीएल) को आय-व्यय सार्वजनिक गर्न बाध्य भएको छ । विकासन्युज डटकमले एनपीएलको आम्दानी र खर्चको समाचार लेखेपछि क्यान आय-व्यय सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएल आयोजना भएर सम्पन्न भएको करिब एक वर्ष समय पुग्नै लाग्दासम्म पनि आय-व्यय सार्वजनिक नगरेको क्यानले गत मंगलबार विकासन्युजले एनपीएलको आयव्यय सार्वजनिक गरेपछि क्यान औपचारिक  रुपमा हिसाब किताब सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएलको हिसाब किताब सार्वजनिक गर्न बिहीबार क्यानको बोर्ड बैठक बसेको छ । मुलपानीमा बसेको बैठकले एनपीएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने एजेण्डामा छलफल गर्दैछ ।  बैठकमा दोस्रो संस्करणको तयारी र एनपीएलको विषयमा छलफल हुने क्यान स्रोतले बतायो । विकासन्युजले गत मंगलबार स्राेतकाे उल्लेख गर्दै क्यानले एनपीएलबाट साढे एक अर्ब रूपैयाँ प्राप्त गरेको र करिब २० करोड रुपैयाँ खर्च गरेको समाचार सार्वजनिक गरेको थियो ।