विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १-० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।  कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अङ्क जोडेको छ । समूह ‘एल’ मा तीन अङ्क जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् । विश्वकप अन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७:४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुँदैछ । 

क्रोएसियाविरुद्ध इंग्ल्यान्डको शानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि शानदार जित हासिल गरेको छ ।  अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को शानदार जित निकालेको हो । खेलमा जित निकालेसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ । कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो । क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल फर्काए ।  केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए ।  पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै क्रोएसियालाई २-२ को बराबरी अवस्थामा ल्याए । खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए ।  मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए ।  खेलमा जित हासिल गरेसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ ।

कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ को खेलमा उपाधि दाबेदार पोर्चुगल कंगोसँग बराबरीमा रोकिएको छ । पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएको हो । उसले सुरुवाती अग्रताक अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो ।  पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले राम्रा अवसर गुमाउँदा गोलविहीन बन्न पुगे । उनको यो छैटौं विश्वकप हो । खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  तर पहिलो हाफको इन्जुरी समयमा योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कंगोले ५२ वर्षपछि भएको विश्वकप पुनरागमन गरेको हो ।  उपाधि दाबेदार पोर्चुगल गोलपश्चात लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाबमा परेको थियो । क‌ंगाेसँग अंक बाँडेसँगै पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ ।