आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै, लुम्बिनीलाई जित्नै पर्ने दबाब

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ५ खेलबाट ८ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले ५ खेलमा २ मात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । 

एनपीएलमा अर्धशतकको सङ्ख्या २६ पुग्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले मंगलबार ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो ।  एडम अर्धशतक पूरा गर्ने २१ औं खेलाडीसमेत बनेका छन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।  कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् ।

आज जनकपुर बोल्ट्स र चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार ४ खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । ४ खेलबाट २ खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । ४ खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।