एनपिएलको विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो । क्यानकाअनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौँथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । प्रतियोगिताको उपाधि भिडन्त पुस ६ गते (शनिबार) हुनेछ ।
आज लिग चरणको अन्तिम खेल, प्लेअफमा पुग्न कर्णालीले जित्नैपर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सुदूरपश्चिम रोयल्सले यसअघिका ६ खेलमध्ये ५ खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । १० अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ । कर्णाली याक्सले भने यसअघिका ६ खेलमध्ये ४ खेलमा मात्रै विजयी भएको छ । ८ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ । यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हार्यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौं गुर्खाज पनि ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
सूर्य नेपाल काठमाडौं ओपन जारी : तेस्रो दिन निरज शीर्षस्थानमा, सदभाव एक स्ट्रोकले पछि
काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् । ५४ होलको खेल सकिँदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । एमेच्योर सदभाव पनि पनि ४-अन्डर ६४ स्कोर गर्दा समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णुप्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे । समग्रमा ५-अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १-अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए । इभन-पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छैटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । समग्रमा २-ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन-पार ६८ को स्कोर दर्ज गरे । रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरुवात राम्रो गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे । यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले । सदभावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३-अन्डर ३१ मा सकाए । उनले चौंथो, दशौं, तेर्हौं र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे । विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक-एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए । कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।