खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउनुपर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपाकिला, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे । नेपाल सरकारले सन् २०२५ लाई नेपाल-चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए । नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भइरहेको बताए । नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उनले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उनको भनाइ छ । नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएको बताउँदै उहाँले यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गर्दै नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पु।्याउने धारणा राख्नुुभयो । प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न चार विधामा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड आयोजना गरिएको छ । पर्वतीय दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कूल २ हजार २५८ मिटर उचाइ पार गर्नेछन् । त्यस्तै च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ । यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको मार्ग तय गरिएको छ । ५० किलोमिटर टिम समूहमा प्रथम हुनेले ४ लाख ५८ हजार ४ सय रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित ३ लाख ४३ हजार ८ सय रुपैयाँ र तेस्रो हुनेले २ लाख २९ हजार २ सय रुपैयाँ पाउनेछन् । यस्तै चौथोलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौँलाई ९५ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा ६४ जना चिनियाँसहित १ हजार २ सय धावक सहभागी बनेका छन् । च्यालेन्ज इन्डिभिजुअल दौड समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा प्रथमका लागि १ लाख ५२ हजार ८ सय रुपैयाँ, दोस्रोका लागि १ लाख १४ हजार ६ सय रुपैयाँ र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि सातौँ हुने खेलाडीका लागि ३८ हजार २ सय रुपैयाँ र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीका लागि १९ हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा एक सय जना नेपाली र ५२ चिनियाँ गरी १५२ जनाले सहभागिता जनाएका छन् । विद्यार्थी दौडमा शीर्ष छ (महिला/पुरुष दुवै) खेलाडीका लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार रुपैयाँ, दोस्रोका लागि २५ हजार रुपैयाँ र तेस्रोका लागि २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाँ पाउनेछन् । विद्यार्थी दौडमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । यस्तै ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् । ह्याप्पी रनमा करिब छ सय जनाले सहभागिता जनाएका छन् ।
यु-१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
महिला यु-१९ विश्वकप क्रिकेट छनोट : नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइलैन्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । बुधबारदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३ः१५ मा हुनेछ । युनाइटेड अरब इमिरेट्स ९युएई० मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।