यी हुन् एनपीएलका ८ मालिक, साढे ३ करोडमा बिक्याे पोखरा टिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को ८ वटा टिमको मालिक घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टिमको मालिक घोषणा गरिएको हो । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको क्यानले जनाएको छ । क्यानका अनुसार नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको हो । यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा लिएको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको हो । यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा लिएको हो । हिमालयन बिल्डर्सले टिम कर्णालीलाई १ करोड ११ लाख रुपैयाँमा लिएको छ भने टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको हो ।
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै, उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।
पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरले गर्यो नगद ५ लाखसहित सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डंगोलले पलेशालाई ५ लाखको चेक हस्तान्तरण गरे । सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए । पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अंकले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।