सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा सचेतक शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरुलाई खेल खेल्न समेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो । प्रमुख सचेतक शाहीले भने, ‘यो देशको पहिचान मेटाउन खोजिँदैछ । नेपालको अस्तित्व खतरामा पर्दैछ । आज यस विषयमा सबै सांसदहरुले बोल्नु हुन्छ होला भनेको त सबै मौन । त्यसो भएर यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जव विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिन ।’ प्रमुख सचेतक शाहीले वाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दाबी समेत गरे ।

४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । ४० लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ,’ उनले भने । खेलाडीलाई फुर्सदको समयमा व्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए । गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए । खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ जेठ २२ देखि

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण- ३ यही जेठ २२ गतेदेखि जेठ २४ गतेसम्म इमाडोल, ललितपुरस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रूपमा रहेको छ । कुल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ । शुक्रबार आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरूले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै, सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका थिए । लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहने छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक÷युटयुब च्यानल) मार्फत हुनेछ ।