नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छरछ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेल्न लागेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । नेपाल लिग चरणमा चार अङ्कका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अङ्क जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका थिए । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो । नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, दीपेन्द्र सिह ऐरी, प्रतिश जिसी, आरिफ शेख र अभिनाश बोहारा छन् ।

लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो । त्यसअघि खेलको ३८औँ मिनेटमा नेपालकी रक्षक पूजा रानाले आत्माघाती गोल गरेपछि नेपाल दबाबमा परेको थियो । पूजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपासले जाली चुम्न पुगेको थियो । त्यस्तै खेलको ७५औँ मिनेटमा नेपालले बराबरी गोल गर्यो । लेबनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा पुगेको थियो । त्यसपछि नेपालकी प्रीतिले दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल थपेपछि नेपालको फाइनल यात्रा तय भयो । यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ । यसअघि समूह ‘बी’ मा रहेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।