२.२६ मिनेटको अन्तरले जिते सञ्जयले लेखनाथ हाफ म्याराथन

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भएका छन् । उनले १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे । उपविजेता बोगटीले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सशस्त्रका खिमबहादुर खत्रीले १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः १० हजार, ५ हजार रुपैयाँ पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ बने । यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भइन् । महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पाएका छन् । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । यसैगरी भेट्रान्स ५ किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । विद्यालय छात्रतर्फ ५ किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६ विधामा गरेर ४ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए ।

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका हुन् । चैत १५ देखि २४ गतेसम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ-११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी-११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता-११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् । कोशी प्रदेशमा रहेका नव खेलाडीहरुलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद रु। ११ लाख, उपबिजेताले रु। ५ लाख ५० हजार लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु। २१ हजार र उत्कृष्ट खेलाडीलाई रु। २१ हजार प्रदान गरिनेछ । फुटबल खेललाई थप उचाइमा पुर्याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको अवस्थामा खेल जीवनमा समेत सो कुरा चरितार्थ हुँदै आएको छ । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

डिएभी कलेजको अन्तर-कलेज फुटसल कप सम्पन्न

काठमाडौं । डिएभी कलेजको दोस्रो बिसीए अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर स्थित डिएभी कलेजले दोस्रो बिसीए अन्तर–कलेज फुटसल कप फागुन २५ देखि २७ गतेसम्म सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बिसीए कलेज सम्बद्ध २७ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टिमका पूर्वकप्तान राजुकाजी शाक्य, डिएभी कलेजका अध्यक्षअनिल केडिया, डिएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोज कुमार चौधरी, केडिया अर्गनाइजेशनका मिडिया एण्ड कर्पोरेट हेड राजकुमार शाह एमबिए कलेजका कोर्डिनेटर राजेश चौधरी र बिसीए कलेजका प्रोग्राम कोर्डिनेटर शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । उद्घाटन सत्रमा सहभागी कलेजहरुका प्रतिनिधि शिक्षक र कर्मचारीहरु समेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बिसीए कलेजहरु बिच नेपालमै प्रथम पटक आयोजना गरिएको बि।सी।ए। कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्ट लाई निरन्तरता दिदैँ दोस्रो संकरण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ । यस वर्ष जनमैत्री कलेजले डिएभी बिसीए अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्यो । त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै सरस्वती बहुमुखी क्याम्पसले ७५ हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पार्यो । उक्त प्रतियोगितामा सरस्वती बहुमुखी क्याम्पसका अन्जन मगरले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै जनमैत्री कलेजका खेलाडीद्वय सनम श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र निखिल ‘गोले’ लामाले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टिफिकेट र गिफ्ट ह्याम्पर द्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडिया, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सीताराम अग्रवाल लगायत कलेजका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र शुक्र राज घलेको उल्लेखनीय योगदान रहेको थियो । टुर्नामेन्ट अबधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरु गरी करिब पाँच हजार दर्शकहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता वीज्जीडिएभी ईभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा संचालन गरिएको हो । टुर्नामेन्टको संचालन बिभागिय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र दिपेश शाक्य र भाइस—प्रेसीडेन्ट रहिता शाक्यले गरेका थिए ।