नेपालद्वारा हङकङ पराजित
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे । नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए । त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए । अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ ।
एसिसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियालाई ३०१ रनले हराउँदै सेमिफाइनलमा प्रवेश भयो नेपाल
काठमाडौं । एसिसी उन्नाईस वर्षमुनि (यू-१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ । मलेसियाको युएसडी-युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलालले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुईरदुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एकरएक विकेट लिए । रासस
सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको दावी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताएका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले यसै साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को कार्यकारी बोर्डको बैठक आयोजना गर्दैछ । जसले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलमा भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई समावेश गर्ने निर्णय गरिसकेको छ । मोदीले आफ्नो सरकारका सदस्यहरूको महिनौंको संकेतपछि बैठकको औपचारिक उद्घाटन गर्दै यो भारतका १ अर्ब ४० करोड जनताको ‘सपना र आकांक्षा’ भएको बताएका थिए । “सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले कुनै कसर बाँकी राख्ने छैन,” उनले भने । प्रधानमन्त्री मोदीले ओलम्पिक आयोजनाका लागि कुन शहरले आवेदन दिने भन्नेबारे भने जानकारी दिएनन् । तर, सञ्चारमाध्यमका अनुसार उनको गृह राज्य गुजरातको राजधानी अहमदावादले खेल आयोजनाका लागि आवेदन दिने सम्भावना सबैभन्दा बढी रहेको छ ।