बुबाले अधियाँ कमाएर हुर्काएका ‘भीम’, क्रिकेट खेलेर नामसँगै बुुबाको ऋण समेत तिरे

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो’, बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ । ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । ‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५÷२० लाख रुपैयाँ ऋणमा डुबे’, उनले भने, ‘९÷१० लाख रुपैयाँ छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् । थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्् । ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे । ‘सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । ‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । ‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।’ भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । ‘क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन’, ्उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।’ त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो, कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ’, उनले भने । यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो, अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो’, उनले भने । बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ । ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै, खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्’, उनले भने । पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ । ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन््’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।’ रासस

दीपेन्द्रसिंह ऐरीका बुवा भन्छन् : छोराकाे कीर्तिमानले देश खुसी भएको छ

महेन्द्रनगर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनी बताउँछन् । ‘घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे’, छोराको सफलताले हर्षित गगनसिंह भन्छन्, ‘चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।’ एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झिए । ‘चार छोरामध्ये साइँलो हो, दीपेन्द्र’, उनले भने, ‘छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।’ विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । ‘स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो’, उनले भने, ‘खेलप्रतिको लगाव र महेनतकै कारण आज उ सफलतातर्फ लम्किँदैछ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।’ सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उनी बताउँछन् । करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सरेका थिए । नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् । ‘छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थे’, उनी भन्छन्, ‘समयअनुसार परिपक्क हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो ।’ बुवा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी थिए भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए । ‘छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपीएफ क्लबमा क्रिकेट नै खेल्छिन्’, उनी भन्छन्, ‘छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ । क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ ।’ एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन् । महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताउँछन् । ‘निकै मेहनती र क्रिकेटलाई नै जीन्दगी ठानेर उ अघि बढिरह्यो’, उनी भन्छन्, ‘क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ ।’ दीपेन्द्रले पढाइभन्दा पनि त्यो बेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उनको भनाइ छ । ‘म प्याब्सनको अध्यक्ष हुँदा दीपेन्द्र सुकासालको विद्यालयमा पढ्थ्यो’, नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष एवं महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूलका सञ्चालक दीपकराज चालिसे भन्छन्, ‘प्याब्सनको खेल हुँदा उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाए । स्कूलस्तरमा खेल्ने शैली र मेहनतबाट प्रभावित भएरै क्रिकेटमा ल्याउन पहल गरिएको हो ।’ ‘हामीकहाँ नै भर्ना भएपछि सन् २०१४ देखि नै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा उ सहभागी हुन थाल्यो’, उनी भन्छन्, ‘त्यो बेलादेखि अध्ययनभन्दा पनि खेलमै दीपेन्द्रको बढी जोड थियो ।’ रासस

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै

काठमाडौं । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।