दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ । यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी, माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।
मलेसियाविरुद्ध ५ खेलको सिरिज नेपालले जित्यो
काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टीट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो । रासस
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को १० खेल सम्पन्न
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्म्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । उक्त खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्यान घोषित भए । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ रनले हराएको छ । उक्त खेलमा प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यलाई म्यान अफ द म्यानको उपाधि दिइएको छ । तेस्रो खेल राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकबीच भएको थियो । उक्त खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनएमबीलाई ६ विकेटले हरायो । यस खेलमा राष्ट्रिय वाणिज्य बैंकका विवेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । चौथो खेल सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा सनराइज बैंकका सुमन न्यौपानेलाई म्यान अफ द म्याच घोषणा गरिएको छ । पाँचौं खेलमा प्राइम बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई १०३ रनले हराएको छ । यस खेलमा प्राइमका विवेक दली म्यान अफ द म्यान घोषित भए । त्यसैगरी, छैटौं खेलमा एनआईसी एसिया बैंकले प्रभु बैंकलाई ३८ रनले हराएको छ । उक्त खेलमा एनआइसी एसियाका दिपन कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको छ । सातौं खेलमा हिमालयन बैंकलाई ३६ रनले हराउँदै आइसिएफसी फाइनान्स विजेता बन्यो । यस खेलमा म्यान अफ द म्याचको उपाधि सुरज तिमिल्सिनाले पाए । आठौं खेल एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनआइसी एसियालाई १८ रनले पराजित गरेको छ । यो खेलमा राष्ट्रिय वाणिज्य बैंकका सुशील देवकोटालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । नवौं खेल लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकबीच भएको थियो । यो खेल कामना सेवाले ३८ रनले जितेको छ । यसमा कामना सेवाका छेतेन दोर्जी सेर्पा म्यान अफ द म्याच घोषित भए । गरिमा विकास बैंक र कुमारी बैंकबीचको १०औं खेलमा कुमारीले गरिमालाई ३ विकेटले हराएको थियो । यस खेलमा कुमारीका प्रतिज कर्माचार्यलाई म्यान अफ द म्याचको उपाधि दिइएको थियो । यो प्रतियोगितामा कुल ३१ खेल खेलिनेछ । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।