एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो ।      लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।      आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।   

एनपिएल : शनिबार दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय  क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली शनिबार विजयी हुन चाहन्छ । यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।  अपरान्ह ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।  पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेट किपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।  सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।