सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले सलिको गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको सीपलाई अभिव्यक्त गराउनु तथा यो खेलबारे रुचि राख्ने सबैलाई प्रत्यक्ष आनन्द लिन सक्ने वातावरण निर्माण गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ । विश्वमा अत्यधिक लोकप्रिय खेलमध्ये गल्फ पनि एक भए तापनि नेपालको सन्दर्भमा यसको विकास पर्याप्त रूपमा हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा राखिएको छ । प्रतियोगितामा समावेश १७ विधामध्ये ‘होल इन वान’ विधाको पुरस्कारका लागि सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ विद्युतीय सवारी, अन्य विधामा सिम्रिक वायु सेवाद्वारा २ जनालाई आकाश उडान (स्काइ डाइभिङ) अनुभव, तथा कैलाश हेलिकोप्टर सेवाबाट १ जनालाई गोसाइँकुण्डको हेलिकोप्टर यात्रा उपलब्ध गराइनेछ । साथै अन्य आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ । यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै, विभिन्न प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको जनाएको छ । वर्तमान परिवेशमा जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढिरहेकाले खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूमाझ निर्जीवन बीमाबारे सचेतना फैलाउने उद्देश्य पनि रहेको कम्पनीले स्पष्ट पारेको छ ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपरान्ह ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । सुदूरपश्चिले भने आफ्नो अपराजित यात्रालाई काय राख्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ ।  दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए । 

लगातार तीन खेल जितको विराटनगर किङ्स चितवन राइनोजसँग ४८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । लगातार तीन खेलमा जित दर्ता गरेको विराटनगर किंग्स बुधबार चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो ।  विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो । चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो । ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।  चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।  प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो ।