एनपिएलमा पहिलोपटक विदेशी कप्तान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दैछन् । शनिबार दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् ।    यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपिएल इतिहासमै पहिलो विदेशी खेलाडी बने ।       उनको कप्तानीमा जनकपुरले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट अन्तरराष्ट्रिय मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको पहिले रोजेको छ । लगातार तीन खेल हारेको जनकपुर यो खेल जित्नै पर्ने दबाबमा छ ।   

रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लि (एनपिएल)अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई जीतका लागि १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।      र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराले पारीको सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।  त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे  ।      लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे । 

एनपिएल : लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले  टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।    रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ  र पोखरा छैटौँ स्थानमा छ ।  आज अपराह्न ४ः०० बजे  हुने अर्को खेलमा साबिक विजेता  जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।