नेपाली क्रिकेट खेलाडीले एक वर्षपछि पाए १२ महिनाकाे एकमुष्ट पारिश्रमिक

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान)को खातामा पठाएको थियो । उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको थियो । उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाएका हुन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यहीअनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराएको हो । ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र विनोद भण्डारी छन् भने बी श्रेणीमा बसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, पवन सराफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, ललितनारायण राजवंशी र सुशन भारी तथा सी श्रेणीमा रशिद खान, इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र राजु रिजाल रहेका छन् । ‘ए’ श्रेणीमा रहेका खेलाडीले एक वर्षको एकमुष्ट रु पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु चार लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि ‘सी’ श्रेणीका खेलाडीको बराबर पारिश्रमिक प्राप्त गरेका छन् ।

क्रिकेट खेलाडीको तलब आयाे, कसले कति पाउँछन् ?

काठमाडाैं । क्रिकेट खेलाडीकाे तलब आइपुगेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएकाे हाे । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानले बताएकाे छ । यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो । नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो । यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरुको तलब १० हजारले बढेर आएकाे छ । खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ। जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन्

क्यानकाे साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको छ । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने क्यानले जनाएको छ ।