नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो । गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ । रासस

सिप्यान क्रिकेट अवार्ड स्थगित

काठमाडाैं । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्य लिएको उक्त अवार्ड यही चैत २१ गते वितरण गर्ने तय भएको थियो । विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान, उत्कृष्ट क्षण र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी थियो । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले जनही रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् भने अन्य विधाको खेलाडीले रु ६६ हजार प्रदान गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए । उनले अनुकूल परिस्थिति सिर्जना हुने वित्तिकै अवार्डको नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् । रासस

काेरोनाको आशंकामा रोनाल्डो सेल्फ क्वारेन्टाईनमा

काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि ड्रेसिङ रुम सेयर गरेका थिए ।