पाकिस्तानका १० क्रिकेटर्समा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार ७ खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । संक्रमित खेलाडीहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज हुन् । यसअघि सोमबार मात्र शादाब खान, हरिस रउफ र हैदर अली कोरोना संक्रमित भएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको थियो । पछिल्ला दुई दिनमा १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् । खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ । पछिल्ला दिनहरुमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । हालसम्म १ लाख ८५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन, भने ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । (बीबीसीबाट)
नेपालका चार प्रशिक्षकले पाए एएफसी ए कोचिङ लाइसेन्स
काठमाडाैं । नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । एशियाली फुटबल फेडेरेसन महासङ्घ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गरेकाे र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गरेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन् । ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्यरूपमा चाहिने गर्दछ । गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौँमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिएका थिए । जसमा १७ जना भने फेल भएका हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहँदै अाएका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सकोे प्रयोगात्मक परीक्षा मात्र पास गरे । अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ । उनीहरुलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए । रासस
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीलाई सफाइ
काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसूरमा मुद्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।