प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका  अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवा क्लबले खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा सो बैंकको विज्ञापन प्रशारण गर्नेछ । प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पुर्याएको बताए । सो अवसरमा सम्मानित मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । रासस

पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस अपाचे सिरीज

काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाईटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेलपछि सकिने छ । हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ, हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल सँग आवद्ध हुने निश्चय गरेका हौँ ।” टिभिएस मोटर साईकलका नेपालको निम्ति आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु सँग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।