सागः नेपालका दुई खेलाडी पुगे फाइनलमा
काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतबार भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेका हुन् । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नेछन् । रासस
साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित
काठमाडौं। यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल ग¥यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।
धावक किरण सिंह बोगटीलाई स्वर्ण
काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते। उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन्। भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका हुन्। सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए। अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन । सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जिते । उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेका हुन्। त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन्। उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन् । एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुभयो । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चिये। १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारेका हुन्। जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।