ए डिभिजन लिगः सातौँ चरणका खेल शुक्रबारदेखि शुरु
काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ । मछिन्द्रले चार खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अङ्क जोडेको छ । त्यसैगरी समान १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अङ्क छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अङ्क जोडेको थ्रिस्टार क्लब चौथो, नौ अङ्क जोडेको जाउलाखेल क्लब पाँचौँ, आठ अङ्क जाडेको न्यूरोड टिम (एनआरटी) छैटाैं, समान आठ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा आठ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठाैं स्थानमा छ । त्यस्तै, सात अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, छ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, पाँच अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघाराैं, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । जारी लिगमा एक अङ्क मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।
रङ्गशालामा झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध
काठमाडाैं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारबाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गरिएको छ । यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई रु ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । रासस
कर्णालीमा स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा हमालसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । ‘यसपालि, घुमौं कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । ‘यसपालि, घुमौँ कर्णाली’ सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरेका हुन् । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमित रुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो । रासस