अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान
काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् । अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दीपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाङ्क पटेललाई सन्दीपले सात दशमलब दुई ओभरमा बोल्ड गरे । उनले चार रनमात्र बनाए । सात दशमलब पाँच ओभरमा सन्दीपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । यत्तिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रनमात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रनमात्र बनाए । उनलाई सन्दीपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो । अमेरिकाले १२औँ ओभरमा सन्दीपको बलमा लगातार दुई विकेट गुमायो । सन्दीपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दीपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । रासस
आइसीसी विश्वकप लिग दुई: कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा शनिबार उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे। कुशलले १५ वर्ष ३ सय ४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला १६ वर्ष १ सय ४६ दिनको थिए । नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आए । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाले। कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । रासस
साग पदक जित्ने छ खेलाडीलाई तारकेश्वर नगरपालिकाले गर्याे नगदसहित सम्मान
काठमाडाैं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।