राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सम्मानित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हाे । बैंकले हालै बंगलादेशमा सम्पन्न भएको ‘एशियन सेन्ट्रल जोन सिनिएर वोमेन भलिबल’ प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएकाेमा उक्त टिमलाई सम्मान गरेकाे हाे । कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताएका छन् । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच आरबीबी-एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्षदेखि रहँदै आएको छ । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

नेपाली महिला क्रिकेट टोली आज चीनतर्फ प्रस्थान

काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ । कात्तिक २८ गते नेपालले मलेसिया र २९ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपाली टोलीको कप्तानीको भूमिका भने डली भट्टले निर्वाह गर्नेछिन । त्यस्तै, टोलीको अन्य सदस्यमा कविता कुँवर, कृतिका मरासिनी, यशोधा विष्ट, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुशी डङ्गोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले र सृष्टि पौडेल छन् । त्यसैगरी वैकल्पिकतर्फ हेलिसा लामा गुरुङ, पेम लामु शेर्पा र मनिषा मगर छन् । रासस

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौँ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गर्ने भएको छ । आगामी शनिवबार आयोजना गरिएको यो प्रतियोगिता छैठौँ संस्करण हो । यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ । पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने बैंकले जनाएको छ ।