‘टिभिएस दशैं दौड’ भव्य, सबै पुरस्कार नेपाल सेनाका खेलाडीकाे पाेल्टामा
काठमाडौं । ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’काठमाडौंमा सम्पन्न भएको छ । उक्त रमाइलो दौडको प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भएका हुन् । रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । दौडको प्रारम्भ गर्दैं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्का सहभागि रहेको उक्त दौडमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा एक हजार रुपैयाँ नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । साे कार्यक्रममा बोल्दै शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउनमा उपस्थिति सबैमा कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्रदान गर्दैं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने बताएका छन् । यस्तो भयो टिभिएसको 'दशैंको दौड' यस्तो भयो टिभिएसको 'दशैंको दौड' Publiée par Bikashnews.com sur Samedi 14 septembre 2019
एनओसीकोे निर्वाचनमा बाटाे खुला, भदौ २८ गते हुने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा उत्रेका छन् । कोषाध्यक्षमा भने रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । रासस
निर्माणधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा
डडेलधुरा । डडेलधुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताएका छन् । कभर्डहलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यतादेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेल खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकूद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताए । अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको उनले बताएका हुन् । कभर्डहल नहुँदा वर्षातको समयमा इन्डोरका साथै भलिबल गेम हुन सकेका छैनन् । नेपाली सेनाको स्वामित्वमा रहेको टँुडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकूद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्नका लागि तीनवटै सरकारले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । रासस