१७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नतिर्ने १७ इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले पटक–पटक पत्राचार, इमेल तथा सूचना गर्दा पनि अटेर गरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमति पत्र किन खारेज नगर्ने भन्दै १५ दिनभित्र सफाइको मौका दिएको हो । ऐनको दफा २८ को ४ बमोजिम चित्त बुझ्दो सफाइ पेश नगरेमा लाइसेन्स खारेजी अगाडि बढाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बेनी कम्युनिकेशन प्रालि, ब्रोडब्याण्ड सोलुसन्स प्रालि, बिग मस्र्याङ्गदी नेट प्रालि, डिभाइन स्ट्रिम नेटवर्क प्रालि, क्लिन नेटवर्क प्रालि, जीआर एस् लिङ्क इन्टरनेट सर्भिस प्रालि, कालिका नेट प्रालि, कस्मिक नेट प्रालि, डाइरेक्ट मिडिया प्रालि, क्षिरेश्वर नेटवर्क प्रालि, मेट्रोलिङ्क बिजनेस प्रालि, नेपाल नेट सञ्चार, प्राइम नेटवर्क प्रालि, साङ्ग्रीला इन्फोम्याटिक्स प्रालि, अल्ट्रानेट कम्युनिकेसन प्रालि, युनिफाइड कम्युनिकेसन प्रालि र यूनाईट नेटवर्कस् प्रालि रहेका छन् । प्राधिकरणका अनुसार ती कम्पनीहरूले विभिन्न आर्थिक वर्षदेखि लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नबुझाएको, साथै सेवा सञ्चालन क्षेत्र तथा ग्राहक विवरणसमेत नियमित रूपमा पेश नगरेको पाइएको छ ।
नेपाली भाषामा इन्टरनेट पहुँच विस्तार गर्न क्यान महासंघको ह्याकाथन सम्पन्न
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोको सहकार्यमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६ : पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (यूए) दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्टरनेटलाई समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विशेषगरी नेपाली भाषा र देवनागरी लिपिमा आधारित डोमेन नेम तथा इमेल ठेगानालाई इन्टरनेट प्रणालीले सहज रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो । उद्घाटन कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले ह्याकाथन केवल प्रतिस्पर्धा नभई नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक प्रयास भएको बताइन् । महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्माले प्रविधिलाई भुइँतहसम्म पुर्याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ अपरिहार्य रहेको धारणा राखे । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्क सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताइन् । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले मातृभाषामा प्रविधिको प्रयोगले नागरिकलाई सशक्त बनाउने र पहिचान जोगाउने उल्लेख गरे । त्यस्तै, आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले आफ्नै भाषा र लिपिमा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको बताए । ह्याकाथनको प्राविधिक विधातर्फ ‘टिम एभरेष्ट’ प्रथम भएको छ । निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले देवनागरी लिपिमा आधारित इमेल ठेगाना सिर्जना र प्रयोग गर्न सकिने प्रणाली विकास गरेको जनाएको छ । गैर–प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम भएको छ । उक्त टोलीले नेपालमा ‘युनिभर्सल एक्सेप्टेन्स’ अवधारणालाई तल्लो तहसम्म विस्तार गर्न नीतिगत तथा चेतनामूलक योजनाको खाका प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषामा इमेल र वेबसाइट सञ्चालन गर्न सकिने ‘यूए रेडी’ डिजिटल प्लेटफर्म विकासलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । क्यान महासंघले यसअघि नै नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल सञ्चालनमा ल्याइसकेको जनाएको छ । कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीको सक्रिय सहभागिता रहेको थियो ।
कोरला नाकामा बिटिएस उपकरण जडान, २४सै घण्टा नेटवर्क र इन्टरनेटको सुविधा
काठमाडौं । मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो । कोरला नाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन । नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो । जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ । कोरला नाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ । उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए । कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ ।