श्रमिकले विदेशबाट दुईवटा फोन ल्याउन मिल्ने, के के कागज चाहिन्छ ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागु गर्ने भएको छ । उक्त सिष्टम लागू भएसँगै विदेशमा ६ महिना काम गरेर फर्किएका नेपालीले मात्रै निःशुल्क रुपमा २ वटा मोबाइल फोन ल्याउन पाउनेछन् । भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउँनेछन् । श्रम स्वीकृति लिई लगातार ६ महिना कार्यगरी नेपाल फर्किदा १ थान अतिरिक्त मोवाइल ल्याउदा कुनै पनि भन्सार राजश्व बुझाउनु पर्दैन । तर उक्त फोन सञ्चालन गर्न भन्सार घोषणा गर्नुपर्दछ । भन्सारले तपाईको घोषणा बमोजिम प्रज्ञापन पत्र तयार गरेर दिन्छ । उक्त प्रक्रियाबाट आएको फोन दूरसञ्चार प्रकृयामा पुनः दर्ता गर्नुपर्दैन भने स्वत:  दर्ता हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम श्रमिकले बुझाएको पासपोर्टका आधारमा प्रज्ञापनपत्र दिईने बताउँछन् । ‘एमडीएमएस भोलिदेखि लागुहुन्छ, २ वटा फोन ल्याउँदा के के आवश्यक पर्छ भन्ने होला, भिसा लागेको पासपोर्टका आधारमा हामीले दर्ता गछौँ’, उनले भने । उनले श्रमिकले दिएको पासपोर्टका आधारमा उनकै नाममा मोबाइल फोन दर्ता हुने बताए । ‘एक वटा मात्र फोन ल्याउन पाईने भएपछि व्यवसायीहरुले श्रमिकलाई भरिया बनाएर फोन ल्याउछन् कि भन्ने शंका देखिएको छ, तर हामीले श्रमिकले देखाएको पासपोर्टका आधारमा मोबाइलको इएमआइ नम्बर दर्ता गछौँ ।’ कार्यालयले पछिल्लो समय ६ वटा काउन्टर थप गरेको छ । यसअघि दैनिक ३ वटा काउन्टरबाट मात्रै सेवा दिदै आएको कार्यालयले ६ वटा काउन्टर थप गरेर हाल दैनिक ९ वटा काउन्टरबाट सेवा दिँदै आएको छ । ९ वटा काउन्टर थप हुँदा प्रज्ञापन पत्र लिन लामो लाइनमा बस्नु नपर्ने उनले बताए । यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुहरुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ हुन्छ । यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागु गर्ने तयारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि रोकिएको थियो ।

१५६ प्रतिशतले बढ्यो क्यूआर कारोबार, डिजिटल भुक्तानीमा फड्को मार्दै

काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चैतसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग लगायतको कारोबार बढेको छ । गत वर्षको तुलनामा डिजिटल कारोबार ह्वात्तै बढेको हो । राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । साथै, कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार डिजिटिल भुक्तानीमा फड्को मारेको देखिन्छ । एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४३ लाख ५७ हजार २४२ पटक ३ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ३६ लाख ५ हजार ४३० पटक २ खर्ब २९ अर्ब रुपैयाँ बरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत बढी रकम कनेक्ट आईपीएस मार्फत कारोबार भएको देखिन्छ । यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । चैतसम्म १ करोड ८६ लाख ६७ हजार पटक १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करेड ४४ लाख ९४ हजार ८९३ पटक १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा ३९ प्रतिशतले वालेटको कारोबार बढेको हो । डिजिटल कारोबार बढ्दै गएपनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत् हुने कारोबार रकम भने ४३.८८ प्रतिशत घटेको छ । चैत मसान्तसम्म ७१ हजार ७७० पटक २४ खर्ब ३७ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको चैतमा ६५ हजार ३७६ पटक ४३ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम घटेपनि संख्या भने ९.७८ प्रतिशत बढेको छ । मोबाइल बैंकिङ्ग मार्फत् हुने कारोबार पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्म ५६.३४ प्रतिशत बढेर २ करोड ५७ लाख ३५ हजार ७५ पटक कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ५९ हजार ९६३ पटक कारोबार भएको थियो । साथै कारोबार संख्या बढेसँगै रकम पनि बढेको छ । चैतमा कारोबार रकम ८० प्रतिशत बढेर २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएको छ । गत वर्षको चैतसम्म १ खर्ब १५ अर्ब रुपैयाँ मोबाइल बैंकिङ्ग कारोबार भएको थियो । क्यूआरमा आधारित भुक्तानी १५६ प्रतिशत बढेर २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा क्यूआरमा आधारित भुक्तानी संख्या १८१ प्रतिशत बढेर ७६ लाख ४४ हजार ७९१ पटक भएको छ ।

वैज्ञानिक चमत्कार : एउटा बच्चाको तीनजना आमाबाबु

सांकेतिक तस्बिर काठमाडौं । हामी सबैलाई थाहा छ, कुनै पनि मानिसको बाबु आमा दुई जना मात्रै हुन्छन । दुई जना बुवा वा दुई जना आमा अहिलेसम्मको मानव समाजको इतिहासमा भएको पाईंदैन । तर, पछिल्लो समयमा वैज्ञानिकहरुको प्रयासद्वारा एउटै बच्चाको आमाबाबु तीनजना भएका छन् । सुपर बेबी भनेर भनिएको भर्खरै जन्मिएको सो बच्चामा आमा बाबुको अलावा तेस्रो व्यक्तिको डिएनए पनि मिसिएको छ । जसले गर्दा सो बच्चा तीन अभिभावकको सन्तान हुन सफल भएको छ । जुन मानवीय समाजका लागि एउटा वैज्ञानिक चमत्कार भएको छ । मेडिकल विज्ञानमा वैज्ञानिकहरुको लामो खोज तथा अनुसन्धान पश्चात पैदा भएको सो बच्चामा बंशानुगत विमारीहरु नदेखिने वैज्ञानिकहरुले बताएका छन् । इङल्यान्डमा जन्म भएको सो बच्चा पैदा गर्नको लागि आइभिएफ प्रविधिको प्रयोग गरिएको थियो । सो बच्चालाई माइट्रोकेन्ड्रियल डोनेशन ट्रिटमेन्ट प्रविधिको प्रयोग गरेर बनाइएको वैज्ञानिकहरुले बताएका छन् । पहिला बैज्ञानिकहरुले एकजना स्वस्थ महिलाको अण्डकोषबाट डिम्ब लिएर आइभिएफ भ्रुण तयार गरेका थिए । त्यसपछि सो भ्रुणमा जैविक आमाबाबुको शुक्रकिट र अण्डाको माइटोकेन्ड्रिया एकैसाथ मिसाइएको थियो । आमाबाबुको डिएनए बाहेक तेस्रो महिला दाताको डिएनए मार्फत बच्चाको शरीरमा ३७ वटा जीनहरु मिसाउने काम गरिएको थियो । त्यसैले सो बच्चाको वास्तविक आमाबाबु तीनजना भएका हुन् । तर आफ्नै आमाबाबुको डिएनए प्रतिशत भने ९९.८ प्रतिशत रहेको वैज्ञानिकहरुले बताएका छन् । एमडिटी एमआरटी अर्थात माइटोकेन्ड्रिया रिप्लेसमेन्ट ट्रिटमेन्ट समेत भनेर भनिन्छ । यो प्रविधिको विकास इङल्यान्डका वैज्ञानिकहरुले गरेका हुन् । सो प्रविधिको प्रयोग गरिएको बच्चा इङल्यान्डको न्युकेसल फर्टिलिटी सेन्टरमा जन्मिएको हो । संसारमा करिब छ हजारमा एकजना बच्चा माइटोकेन्ड्रियल रोग अथवा वंशानुगत रोगबाट पिडित भएको पाइन्छ । वैज्ञानिकहरुले आफ्ना बाबुआमामा भएको बंशानुगत रोग बच्चामा नसरोस भन्नका लागि बच्चा पैदा गर्ने विषयमा यो प्रविधिको प्रयोग गरेका हुन् । माइटोकेन्ड्रियल डोनेसन प्रविधिमा सबैभन्दा पहिला आमाको अण्डामा बाबुको सुक्रकिट मिलाएर गर्भाधान गराइन्छ । त्यसपछि अर्को स्वस्थ महिलाको अण्डाबाट परमाणु जेनेटिक तत्व निकालेर गर्भाधान गराइएको अण्डामा मिसाउने काम गरिन्छ । यसपछि स्वस्थ महिलाको माइटोकेन्ड्रियाले गर्भाधान भएको अण्डामा प्रभाव पार्ने काम गर्छ । मेडिकल साइन्सको दृष्टिकोणबाट हेर्दा पनि यो प्रकृयामा निकै चुनौती र जोखिम रहेको हुन्छ । एजेन्सीकाे सहयाेगमा ।