सस्तो मूल्यमा बिक्रीमा राखि नक्कली विज्ञापन गर्ने अनलाइन सञ्चालक पक्राउ
काठमाडौं । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ । उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिए ।
जीवन विकास लघुवित्तले ७७ ठाउँमा दियो वित्तीय साक्षरता, ४३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै कूल ७७ स्थानमा वित्तीय साक्षरता दिएको थियो । संस्थाका डिजिटल प्रमुख विजय कुमार मण्डलका अनुसार मोरङमा १९, झापामा १२, सुनसरीमा ८, सप्तरीमा ८, सिराहामा ८, धनुषामा ८, महोत्तरीमा ८, बारामा ६ स्थानमा वित्तीय साक्षरता दिइएको हो । सो क्रममा वित्तीय सेवा, सामाजिक सेवा र डिजिटल सेवाबारे जानकारी गराइएको उनले बताए । त्यस्तै, संस्थाले कुल ४३४ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको मण्डलले डिजिटल प्रमुख बताए । छात्रवृत्ति पाउनेमा मोरङका ७१, झापाका ७६, सुनसरीका ४०, सप्तरीका ८१, सिराहाका ६९, धनुषाका २३ र महोत्तरीका ७४ विद्यार्थी रहेका छन् । जीवन विकास लघुवित्त संस्थाले समुदायमा आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सो सम्बन्धमा समुदायका स्थानीय निकायका सरोकारवालाहरुलाई समेत जानकारी गराइएको थियो । त्यस्तै, संस्थाले प्रत्येक गोष्ठि कार्यक्रमको अन्तिम सत्रमा शाखा अन्तर्गतका विभिन्न उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरेको छ । त्यसैगरि संस्थाले शाखा अन्तर्गतका अधिकांश दुःखी बिरामी घर परिवारहरुलाई आर्थिक सहयोग समेत गरेको थियो ।
नेपाल टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने
काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए ।