एप्पलले सेप्टेम्बर ७ मा लञ्च गरेको आइफोन १४ प्रो म्याक्स कस्तो छ ?
एजेन्सी । एप्पलले सेप्टेम्बर ७ मा आईफोन १४ सिरिज लन्च गरेको छ । एप्पल आइफोन १४ सिरिजअन्तर्गत आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स लन्च गरिएको छ । आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हाइ(एन्ड फोनहरूको युगमा प्रस्तुत गरिएको छ। आइफोन १४ प्रो म्याक्स को प्रारम्भिक मूल्य २ लाख २३ हजार ८ सय ४० राखिएको छ । आईफोन १४ प्रो म्याक्सलाई डायनामिक आइल्याण्ड अर्थात् पिल शेप होल पंच कटआउटको साथ ल्याइएको छ। आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको सुपर रेटिना एक्स डि आर ओलेड डिस्प्ले राखिएको छ । जसको २७९६१२९० पिक्सेलको रिसोलुसन र १२० हर्जको प्रो–मोसन प्रविधिको रिफ्रेस रेट रहेको छ । आइफोन प्रो म्याक्सको नयाँ चिपसेट ए१६ बायोनिक मार्फत सुसस्ज्जित गरिएको छ भने यसमा ६ कोर सीपीयु ( २ पर्फमेन्स र ४ एफीसीएन्सी कोर) रहेको हुन्छ । त्यस्तै फोनको प्रोसेसरमा ५ कोर ग्राफिक्स पनि जडान गरिएको छ ।
अब इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा राख्न नपाइने
काठमाडाैं । अब इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्याकेजमा अन्य सेवाहरु जाेडेर सेवा दिन नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट प्याकेजमा टिभी लगायतकाे सेवा जाेड्नु कानुन विपरित भएकाे बताउँदै यस्ताे नगर्न आदेश दिएकाे छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था रहेकाे सूचनामार्फत बताएकाे छ । प्राधिकरणले धेरै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटसँगै आईपीटिभी. सेवा र ओएनयु (अप्टिकल नेटवर्क युनिट) तथा राउटरहरुको प्याकेज बनाई केही सेवा नि:शुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार गरेको पाईएकाे बताउँदै यस्ताे नगर्न आग्रह गरेकाे छ । ‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रस सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डलिङ जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
टेलिकमको अफर : १९९ रुपैयाँमा ४२ सय एमबि डाटा, ४२० मिनेटको टकटाइम र एसएमएस
काठमाडाै । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि उपलब्ध गराइरहेको प्रिपेड कम्बो अफरमा नयाँ प्याक ल्याएकाे छ । टेलिकमले यस अफरमा असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ मा ४ हजा २०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै, जम्मा ३४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४९९ रुपैयाँमा १९ हजार ६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।