एटिएम फोडेर पैसा निकाल्न कति सम्भव ?

काठमाडौं । पछिल्लो समय नेपाली बैंकका एटिएममाथि आक्रमण बढ्दै गएको छ । एटिएमको संख्या बढ्दै जाँदा आक्रमण पनि बढेको देखिन्छ । एटिएम ह्याक गरेर पैसा लुट्ने पो हुन् कि भन्ने त्रास पनि बैंकलाई छ । तर, एकपछि अर्काे गर्दै बैंकले देशभरि संचालनमा राखेका एटिएम मेसिनमा हमला गर्ने संख्या बढेपछि बैंकर्सहरुलाई अर्काे तनाव थपिएको छ । सामान्यतया बैंकको एटिएम मेसिन फुटाएर पैसा लुट्न सम्भव नभएपनि एटिएम फुटाउन खोज्नेको संख्या बढेको हो । गत साउन २ गते कास्की प्रहरीले एटिएम मेशिन फोडेको आरोपमा १९ वर्षिय नरेश मगर पुनलाई पक्राउ गर्याे । पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिनलाई गैंटी प्रयोग गरेर फोडेका थिए । केही समयअघि पोखराको पृथ्वीचोकमै रहेको कृषि विकास बैंकको एटिएम मेसिन फोड्ने प्रयास भयो । बैंकले लगत्तै प्रहरीलाई जानकारी गराएपछि एटिएमभन्दा केही पर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भयो । यस्तै, केही समयअघि विराटनगर महानगरपालिका ३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको भन्दै रतुवामाई नगरपालिका पाँच बस्ने २१ वर्षीय पारस कालिकोटे पक्राउ परे । एक वर्षअघि भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड भयो । तोडफोड गरेको आरोपमा कञ्चनपुर प्रहरीले वेदकोट नगरपालिका-२ दैजीका नरेन्द्रसिंह ठकुल्लालाई पक्राउ गर्याे । राति ८ः३० बजे एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेपछि सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको थियो । यस्तै, २ वर्षअघि मध्यपुरथिमि नगरपालिका-६ बाहखा बजारस्थित राति २ः१५ बजे एटिएम फुटाउँदै गरेको आरोपमा २१ वर्षीय सचिन तामाङलाई प्रहरीले फक्राउ गर्याे । उनले एनआईसी एशिया बैंकको एटिएम फुटाउने प्रयास गरेका थिए । तामाङले ह्याम्बर, स्क्रुड्राइभर, डण्डीले एटिएम मेसिनको बाहिरी कभर फुटाएका थिए । यस्तै, एक वर्षअघि उदयपुरको गाईघाट बजारमा रहेको नबिल बैंकको एटिएम मेसिन फुटाउने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्बरले हानेर फुटाउने प्रयास गरेका थिए । यी माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय देशभरि छरिएर रहेका हजारौ एटिएम संचालनमा छन् । ती एटिएम मेसिन फुटाएर पैसा लुट्न खोजेका तमाम उदाहरण छन् । माथिका पक्राउ परेका सबैले एटिएम मेसिन फुटाएर पैसा लुट्ने प्रयास गरेका हुन् । तर, मेसिन फुटाएर पैसा चोरी गर्न असफल भए । अचम्म त के छ भने साउन पहिलो साता पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी भयो । त्यो पनि १०-१५ मिनेट भित्रैको समयमा । पोखरा महानगरपालिका-२६ अर्घाे चोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग ल्याएको छ । हालसम्म कुनै औजार प्रयोग गरेर एटिएम मेसिन फुटाएर पैसा चोरेको घटना नेपालमा छैन । एनएमबि बैंकको एटिएम मेसिन फुटाएर पैसा चोरी भएको घटना पहिलो भएको हुँदा बैंकर्स अचम्मित बनेका छन् । ह्याम्बर र छिनाले फुटाएर एटिएमबाट पैसा लुट्ने सम्भवाना शून्य हुने गरेको बैकर्सहरु बताउँछन् । लामो समयदेखि एटिएम मेसिन नेपाली बैंकहरुले चलाइरहेका छन् । तर, यसरी ह्याम्बर र छिनाले फुटाएर पैसा चोरी भएको अहिलेसम्म नसुनेको सेञ्चुरी बैंकका कार्ड एण्ड ट्रान्जेक्सन प्रमुख युनेस पुरीले बताए । ‘लामो समयदेखि एटिएम संचालनमा छन्, तोडफोड गर्ने मात्रै हुन्थ्यो तर, एनएमबि बैंकको एटिएम मेसिन फोडेर पैसा लगेको घटना पहिलो पटक भएको हो,’ उनले भने, ‘एनएमबि बैंकको घटनामा मेसिन फुटाएको, बाहिरबाट हानेर, काटेर पैसा लगेको देखिँदैन ।’ त्यो घटनामा बैंकको पार्टबाट पनि केही गलत भएको हुन सक्ने उनले बताए । शाखा कार्यालयबाट एटिएमको पैसा लोड गरिसकेपछि लक गर्न बिर्सेको जस्तो देखिएको उनको भनाइ छ । त्यहाँ एटिएम फुटाएको नदेखिएको उनले बताए । ‘१०-१५ मिनेटमा नै पैसा लगेको देखिन्छ, सीसीटिभि फुटेज हेर्दा पैसा राख्दा भेण्डरको ढोकाको लक गर्न बिर्से जस्तो देखिन्छ, बैंकको पार्टबाट पनि केही मिस्टेक भएको जस्तो देखिन्छ, यो घटनाबाट बैंकले पनि सचेत हुुनुपर्ने देखिन्छ ।’ बैंकको एटिएम मेसिन फोडेर पैसा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । तोडफोड गर्ने ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक्स्टर्नल अफियर्स एण्ड मिडीया म्यानेजमेन्ट म्यानेजर विष्णु पौडेलले विभिन्न कारणले चोरी भएको हुन सक्ने बताए । एटिएम मेसिन प्राविधिक पक्ष भएकाले बेलाबेलामा मर्मत गर्नु पर्ने उनको भनाइ छ ‘एटिएम मेसिनमा पैसा राखेपनि बेलाबेलामा मर्मत सम्भार गर्नुपर्छ, भेण्डरमार्फत् मर्मत गर्ने भएकाले नट, बोल्ट लगायत कस्नु पर्ने कुरा कमजोर गर्न पनि सक्छन्, कहिलेकाहीँ स्टाफले पैसा राख्दा गलत भएको हुन सक्छ, यसमा विभिन्न कमजोरी हुन सक्छन्, तर यहि आधार हो भन्ने कुनै प्रमाण छैन्, प्रहरीले अनुसन्धान गरिरहेकाले एउटा ठोस आधार आउँछ,’ उनले भने, ‘बैंकको इन्स्योरेन्स गरेको हुन्छ, इन्स्योरेन्स कम्पनीले पनि अनुसन्धान गरिरहेको हुन सक्छ ।’ उनले एटिएम मेसिन तोडफोड गरेर पैसा चोरी भएको विषयमा आफूलाई पुरा जानकारी नभएको बताए । बैंक तथा वित्तीय संस्थाले राखेको एटिएम मेसिन तोडफोड गरेर पैसा लुट्न खोज्ने अधिकांश व्यक्ति असफल भएका छन् । कारणवश एटिएम मेसिनमा खराबी आएर फुटाउनु परेमा सहज नहुने बैंकका प्राविधिकहरु बताउँछन् । औजार प्रयोग गरेर एटिएम मेसिन फुटाउनुभन्दा सजिलो ह्याक गर्न रहेको उनीहरुको धारणा छ । विश्वव्यापी रुपमा एटिएम मेसिन सप्लाई गर्ने ३/४ वटा ब्राण्डका की भेण्डर छन् । जसमा अहिले चलेका भनेका डिभोल्ड, वीनकोर, एमसीआर कम्पनीका एटिएम बढी छन् । नेपालका बैंकहरुमा पनि यीनै कम्पनीका एटिएम मेसिन प्रयोग गरिन्छन् । नेपालमा जुन कम्पनी आउँछन् अन्य देशमा पनि त्यही कम्पनीको मेसिन सप्लाइ हुन्छ । पुरीका अनुसार एटिएमलाई २ भागमा छुट्याएको हुन्छ । माथिको भागमा नर्मल कम्प्युटर जस्तैः सीपीयू, स्क्रिन मोनिटर, हार्डडिस्क हुन्छन् । माथिको भाग कम्प्युटर जस्तै हो । तलको भागमा फलामबाट बनेको सेज हुन्छ । त्यो सेजमा पैसा राखिन्छ । त्यसलाई फुटाउनु पर्याे भने गाह्रो हुन्छ । कहिलेकाहीँ बाढी पहिरोमा परेर मेसिन बिग्रिदाखेरि फुटाउन गाह्रो भएको स्मरण गर्दै उनले भने, ‘बैंकले आधिकारिक रुपमा फुटाउनु पर्याे भनेपनि कम्पनीका मान्छेले यहाँ काटेर खुल्छ भनेर देखाउँदा पनि ३ घण्टा समय लाग्छ,’ पुरीले भने, ‘छिनो र हतौडा बोकेर एटिएम मेसिन फुटाउन सकिँदैन, सम्भव नै छैन, फोड्ने बेलामा आवाज पनि ठूलो आउँछ ।’ सानिमा बैंकका डिजिटल बैंक हेड बिक्रम श्रेष्ठले फोडेर पैसा चोरी गर्ने सम्भावना नहुने बताए । सार्वजनिक स्थानमा राखिएको एटिएममा आक्रमण हुन सक्ने भएपनि फोडेर पैसा लिन सक्ने अवस्था भने न्यून हुने उनको भनाइ छ । ‘एटिएममा राखिएको प्रविधि विश्वको एक नम्बर हुन्छ, फोडेर पैसा लिन सक्ने उदाहरण अहिलेसम्म छैन्, एटिएम नै लिएर गएको उदाहरण छन् तर, फोडेर पैसा लिएर गएको भने छैन,’ उनले भने, ‘सार्वजनिक स्थानमा राखिएको मेसिनलाई फोडेर झिक्न सक्ने सम्भावना न्यून छ, बैंकिङ्ग क्षेत्रमा २ दशकको अनुभव भयो, एटिएममा वा भल्वमा फोडेर लान सक्ने सम्भावना कम हुन्छ, प्रविधिलाई गर्नै नसक्ने भन्ने त हुँदैन तर एकदमै न्यून हुन्छ । वल्र्ड स्ट्याण्डर्डलाई ब्रेक गर्नु भनेको आश्चर्य नै हो ।’

माइ पेले सार्वजनिक गर्याे माइपे क्वाइन, हरेक कारोबारमा प्रयोग गर्न सकिने

काठमाडौं । माई पे डिजिटल वालेटले माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पे को भनाइ छ । उदाहरणको लागि माई पे बाट १ हजार रुपैयाँको मोबाइल टपअप गरियो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा २० रुपैयाँ क्यासको रुपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ । यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । मानौं अघिको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब अर्काे कारोबारको रुपमा एक हजार रुपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गरियो। अब बिल भुक्तानी गर्दा माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ । पहिलो विकल्प छनौट गर्दा वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गरिएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिने छ । जस्तो एक हजार रुपैयाँको बिल तिर्दा ९८० रुपैयाँ बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सकिन्छ । यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सकिन्छ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ । ‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’

दार्चुलाका अल्लो उद्यमीलाई मन्त्री बडुले हस्तान्तरण गरे प्रविधि

दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवर्द्धन, उद्यमीहरुलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस्ता उद्योगलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए । ‘सरकारले घरेलु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा ओैद्योगिक ग्राम बनाउने नीति लिएको छ,’ मन्त्री बडूले भने, ‘स्थानीय उद्यमी र उत्पादनको संरक्षण एंव विकासका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गरि यसको उपयोग गर्न जरुरी छ ।’ मन्त्री बडूले ओैद्योगिक ग्राम बनाउन सरकारले तीन करोड रुपैयाँ लगानी दिने गरेकोले जनताको जिवनस्तर उकास्नका लागि दार्चुलाका स्थानीय तहलाई यसबाट लाभ लिन आग्रह गरे । मेशिन पाएपछि अल्लो व्यवसायीहरुले पनि व्यवसायको विकास, स्तरोन्नती र गुणस्तरीय सामान उत्पादन गर्न सहज हुने बताए । अल्लो उद्यमी गणेश दत्त जोशीले २०४४ सालदेखि आवश्यक प्रविधिका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री बडूको पहलमा अहिले अल्लो प्रशोधन मेसिन प्राप्त गरेकोमा खुशी व्यक्त गरे । ‘२०४४ सालदेखिको सपना आज पूरा भयो । अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन,’ उनले भने, ‘आज विकासप्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए । अब मेरो भावी पुस्ताले यसबाट भरपूर लाभ लिनेछ ।’ मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका एकरएक जना गरि ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।