सिजीनेटले ल्यायो सुपर भ्यालु योजना : ३०० एमबीपीएस इन्टरनेट १२ सय रुपैयाँमा
काठमाडाैं । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएकाे सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीकाे अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन् । यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । १ वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको लागि १ हजार २४४ रुपैयाँ, १५० एमबीपीएसको लागि ९२५ रुपैयाँ र ७५ एमबीपीएसको लागि ६८० रुपैयाँ हुनेछ कम्पनीले जानकारी दिएकाे छ । यो हालसम्म कै सस्ताे मूल्य रहेकाे कम्पनीले दावी गरेकाे छ । यस्तै, ३०० एमबीपीएस रकस्टार प्याकेज १ महिना प्याकेजको लागि १ हजार ९९ रुपैयाँ लागत र त्यसैगरी ३ महिनाको प्याकेजका लागि ४ हजार ६२ रुपैयाँ र वार्षिककाे लागि १४ हजार ९२८ रुपैयाँ लाग्ने छ । त्यसैगरी, १५० एमबीपीएस लोकप्रिय प्याकेज १ महिना प्याकेजको लागि १ हजार ५० रुपैयाँ लाग्नेछ भने ३ महिनाको प्याकेजको लागि ३ हजार ४५ रुपैयाँ र १२ महिनाको प्याकेजको ११ हजार १०० रुपैयाँ लाग्ने छ । प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएसको लागत १ महिना योजनाको लागि ७३० रुपैयाँ, ३ महिनाको योजनाको लागि २ हजार १६० रुपैयाँ र १२ महिनाको योजनाको लागि ८ हजार १६० रुपैयाँ छ। सिजीकाे कुनै पनि प्याकेज र योजनाको लागि जडान खर्च र ड्रप वायर नि:शुल्क रहेकाे छ । यस्तै, डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा नि:शुल्क छ भने डुअल ब्यान्ड राउटर ३ महिनाको लागि एक हजार र १ महिनाको लागि १५ सय लाग्दछ । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । सिजीनेटको सेवा अहिले उपत्यका बाहिरका थप ७ जिल्लामा उपलब्ध छ र आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्न कम्पनीले जनाएको छ ।
टेलिकमको समर अफर, पहिलेकै मूल्यमा थप ४ गुण डेटा सेवा
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ । यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाएको छ ।
प्रभु क्यापिटलको एप संचालन, सेयर सम्बन्धी सबै सेवा अब मोबाइलबाटै
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा ल्याएको जनाएको छ । यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी तथा पासवर्ड परिवर्तन गर्न निवेदनका साथै हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन् । यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने छ । यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सक्नेछन् । यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सक्नेछन् । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तन तथा ग्राहकहरुलाई सहजीकरण गर्दै आएको छ । यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकहरुले प्रभु क्यापिटलबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवाहरु प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ्ग गरिएको र यसलाई विभिन्न चरणमा यसको सुरक्षा जाँच तथा सुरक्षाको जोखिम परिक्षण पश्चात मात्रै सञ्चालनमा ल्याइएको हुँदा सुरक्षाको दृष्टिकोणबाट एकदमै सुरक्षित रहेको जनाएको छ ।