भिभोको भि २३ नेपाली बजारमा लन्च
काठमाडौं । स्मार्ट फोन कम्पनी भिभोले भि २३ फोन नेपालमा सार्वजनिक गरेको छ । स्मार्ट फोन प्रयोगकर्ताको माग र समयसापेक्ष परिवर्तनलाई मध्यनजर गर्दै उक्त फोन नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा परिवर्तन हुन्छ भने यो विश्वकै पहिलो फोन भएको कम्पनीले जनाएको छ । यसको विशेषता कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनले गर्दा समार्टफोन अल्ट्राभायोलेट किरण वा घाममा लगभग ३० सेकेन्ड पछि रङ परिवर्तन गर्ने कम्पनीले जनाएको छ । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्ने कम्पनीको दाबी छ ।
प्रविधिमा फड्को : ओपन वायर म्याग्नेटोदेखि फाइभजीसम्म
काठमाडौं । नेपालमा दूरसञ्चार प्रविधिको सुरुवात भएको धेरै भएको छैन । नेपालमा करिब १०८ वर्षको अन्तरालमा तारसहितको फोन, ताररहितको फोन, सिम मोबाइल, टुजी हुँदै फोरजीसम्म विकास भइसकेको छ भने फाइभजी पनि परीक्षणको क्रममा छ । नेपाल टेलिकमका अनुसार नेपालमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म ६५४ स्थानीयमा फोरजी विस्तार भइसकेको छ । नेपालको इतिहासमा दूरसञ्चारको विकास विसं १९७० बाट सुरुवात भएको मानिन्छ । वीरगञ्जबाट काठमाडौंसम्म नाङ्गो तार टाँगेर टेलिफोन भित्र्याइएको थियो । काठमाडौंबाट वीरगञ्जसम्म तार टाँग्नका लागि थानकोट, चिसापानीगढी, भीमफेदी, भैँसे, हेटौँडा, अमलेखगञ्जको बाटो रोजिएको थियो । नाङ्गो तारमा सञ्चालन हुने उक्त पुरानो प्रविधिलाई ‘ओपन वायर म्याग्नेटो’ भन्ने गरिन्थ्यो। त्यो बेला टेलिफोन सेवा सुरु गरिए पनि राजा र राणाहरूले मात्र प्रयोग गर्न पाउँथे । विसं १९७४ जेठ १ गतेदेखि भने सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । विसं २०१३ मा नेपालमा ३५० वटा स्थानीय टेलिफोन सेवा, २८ वटा आकाशवाणी केन्द्र, सात स्थानमा ट्रंक टेलिफोन सेवा सञ्चालनमा आएको थियो । उक्त अवधिमा सर्वसाधारणलाई निजी टेलिफोन सुविधा उपलब्ध थिएन । दूरसञ्चार सेवाको विकास र विस्तार गर्ने उद्देश्यले २०१६ सालमा दूरसञ्चार विभागको स्थापना भएको थियो । विसं २०२१ सालमा एचएफ रेडियो सर्भिसद्वारा भारत र पाकिस्तानसँग अन्तराष्ट्रिय दूरसञ्चार सेवाको प्रारम्भ भएको थियो । सोही अवधिमा ५८ जिल्लामा टेलिफोन सेवा विस्तार भयो । २०४६ सालको जनआन्दोलनपश्चात २०४९ सालमा जारी भएको राष्ट्रिय दूरसञ्चार नीतिले दूरसञ्चार सेवामा निजी क्षेत्रलाईसमेत सहभागी गराउने नीति लियो । त्यसैअनुसार २०५३ सालमा दूरसञ्चार ऐन बनेपछि मात्र नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रले प्रवेश पाएको हो । नेपालमा मोबाइल जीएसएमको सुरुवात २०५६ वैशाख १ गतेबाट भएको मानिन्छ । औपचारिकरुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १जी थियो । त्यो निकै महँगो थियो जुन मध्यम वर्गको पहुँचभन्दा बाहिर थियो । २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान (हालको नेपाल टेलिकम) ले प्रिपेड मोबाइलको सुरुवात गरेको थियो । त्यसपछि भने मध्यम परिवारका लागि मोबाइल फोनमा पहुँच विस्तार भयो । सर्वसाधारणले प्रयोग गर्न थाले । २०६२ पछि एनसेल (तत्कालिन मेरो मोबाइल)ले टेलिकमसँग प्रतिस्पर्धा गर्दै मोबाइल सेवा सुरु गर्यो। त्यसपछि सर्वसाधारणको पहुँच अझ सहज हुँदै गयो । २०६२ साल जेठ २३ गतेसम्म नेपालमा आगमन कलको समेत शुल्क लाग्थ्यो भने २०६१ साल वैशाख १ गतेसम्म मोबाइल नम्बर अहिलेको जस्तो १० वटा थिएन । यसअघि ९ वटा नम्बर थियो । २०६४ साल जेठ ३ गतेबाट नेपाल टेलिकमले तेस्रो पुस्ता थ्रीजी सेवा परीक्षण सुरु गरेको थियो । नेपालमा २०६५ सालदेखि सबै जिल्लामा मोबाइलको पहुँच पुगेको थियो । चौथो पुस्ता अर्थात् फोरजी भने नेपालमा २०७३ सालबाट सुरु भएको हो । २०७३ पुस महिनामा पोस्टपेडमा मात्र सुरु गरेको फोरजी सेवा करिब एक महिनापछि मात्र प्रिपेडमा दिएको थियो । फोरजी थ्रीजीको विकसित रूपको नेटवर्कअन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । पछिल्लो समय बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हरेक व्यक्तिका लागि मोबाइल साथी बनेको छ । हिजो वानजीबाट सुरु भएको भ्वाइसकल आज भोल्ट कलसम्म चल्न थालेको छ भने । इन्टरनेट पनि त्यतिकै रफ्तारमा विकास भएको छ । नेपालमा हिजो सूचनाका लागि हुलाक प्रयोग गर्नेहरू आजकल भिडियो र अडियो कलमा रम्न थालेका छन् । नेपालमा भोल्ट कल सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ । भोल्ट कलमा बिनाइन्टरनेट नम्बरबाट नम्बरमा भिडियो कल गर्न पाइन्छ । साथै मोबाइलमै वेब एक्सेस, आईपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायतका चल्ने फोरजी सञ्चालनमा आइसकेको छ । हिजो परदेशमा बसेकाले आफ्नो बारेमा जानकारी गराउन चिठी लेख्नेहरू पलपलमा कुनै न कुनै माध्यमबाट चाहेको बेलानै परिवार र आफन्तसँग बोल्न पाउने भएका छन् । दूरसञ्चार प्रधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेका अनुसार नेपालमा हाल ५७ इन्टरनेट प्रदायकले देशभर सेवा प्रदान गरिरहेका छन् । देशमा हालसम्म ५ कम्पनीले मोबाइल सेवा दिइरहेको छ । ३जी प्रयोगकर्ता एक करोड २० लाख र फोरजी प्रयोगकर्ता एक करोड ६० लाख छन् । साथै ५४ प्रतिशत नेपाल टेलिकम तथा ४० प्रतिशत एनसेल प्रयोगकर्ता छन् । हाल नेपालमा ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ताको संख्या दुई प्रतिशतमा खुम्चिएको प्राधिकरणको तथ्यंकले देखाउँछ । नेपालमा सञ्चार सेवाको विकास :- १९७०- म्याग्नेटो प्रविधिको टेलिफोन सेवाको सुरुवात विसं २०१६- दूरसञ्चार विभागको स्थापना विसं २०२१- एचएफ रेडियो सर्भिसद्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको प्रारम्भ विसं २०३२- दूरसंचार संस्थानको स्थापना विसं २०४१- दूरसञ्चार संस्थानद्वारा अन्तरदेशीय ट्रंक सेवा (एसटीडी) को प्रारम्भ, नेपालमा ग्रामीण दूरसञ्चार सेवाको शुरुवात विसं २०४४- दूरसञ्चार संस्थानमार्फत अन्तर्राष्ट्रिय ट्रंक सेवा (आईएसडी) को सुरुवात विसं २०४९- राष्ट्रिय सञ्चार नीति तर्जुमा विसं २०५३- दूरसञ्चार ऐन विसं २०५३ को तर्जुमा । नेपालमा इन्टरनेट/ईमेल सेवाको सुरुवात विसं २०५४- नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना । दूरसञ्चार नियमावली २०५४ को तर्जुमा । विसं २०५५ – प्राधिकरणबाट पहिलो पटक निजी क्षेत्रको सेवा प्रदायकलाई इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमतिपत्र जारी विसं २०५६- दूरसञ्चार नीति तर्जुमा । नेपालमा मोबाइल सेवाको सुरुवात । विसं २०५९- भ्वाइस सेवा संचालनका लागि निजी क्षेत्रको सेवा प्रदायकताई अनुमतिपत्र प्रदान विसं २०६०- दूरसञ्चार नीति, ०६० तर्जुमा । ग्रामीण दूरसञ्चार सेवा संचालनका लागि निजि क्षेत्रको सेवा प्रदायकलाई अनुमतिपत्र प्रदान विसं २०६१- निजी क्षेत्रलाई मोबाइल सेवा संचालनका लागि अनुमतिपत्र प्रदान विसं २०६४- थ्रीजी सेवाको सुरुवात (सार्क मुलुकमध्ये थ्रीजी सेवा सुरु गर्ने पहिलो मुलुक) विसं २०६९- दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति जारी विसं २०७०- आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र विसं २०७१- ब्रोडब्याण्ड नीति तर्जुमा विसं २०७२- सूचना तथा सञ्चार प्रविधि नीति तर्जुमा विसं २०७३- दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) नीति (पहिलो संसोधन) विसं २०७४- फोरजी सेवाको सुरुवात विसं २०७६- पहिलो पटक लिलाम बढाबढको माध्यमबाट दूरसञ्चार सेवा सञ्चालनको फ्रिक्वेन्सी प्रदान विसं २०७८ फागुन – फाइभजी प्रविधिको विस्तारसम्बन्धी अध्ययन पूरा ।
एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ । ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ, कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेष्ट अफ वर्ल्ड’ को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ । यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन् । रेष्ट अफ वर्ल्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो, जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमुलक कथाहरू समेटेर प्रकाशन गर्न समर्पित छ । यसमा कम्पनी, संस्थापकहरु, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमुलक लेखहरू प्रकाशित हुन्छन् ।