व्यापारीले टिकटकमा विज्ञापन गरेरै कमाउँछन् करोडौं
काठमाडौं । अगाडि डाइनिङ कोठामा चारवटा टेबल । त्यहाँ पाहुनाहरू कोही चिसो खाँदैछन्, कोही म:म: । डाइनिङको बीच भागबाट किचन छिर्ने बाटो छ भने बाटोको बायाँपट्टि संगिता राई टिकटकमा आफ्नो होटलमा पाइने खाजाहरूको बारेमा जानकारी दिँदैछिन् भने पाहुनाहरूसँग पनि कुरा गरिरहेकी छन् । खोटाङ्गे होटल गाइघाटकी साहुनी संगिता राईले यसरी नै आफ्नो होटलमा पाइने खाजासँगै रुमको बारेमा जानकारी दिइरहेकी छन् भने कसैले नम्बर माग्दा टिकटकको बायोमा हेर्न सुझाव दिन्छिन् । त्यही बायो हेरेर फोन गर्नेहरूले रुम बुकिङ पनि गर्ने गरेको बताउँछिन् । उनका अनुसार फोनबाट रुम बुकिङ हुँदा मितिसँगै ग्राहकको नम्बर पनि उनले होटल डायरीमा लेख्छिन् । अनि बुकिङ भएको दिन बिहानै रुम बुकिङ फाइनल गर्छिन् । – यता विप्सन एण्ड जिप्सन मोबाइल पार्ट्सको शोरुम र स्टोर गंगबुमा छ । शोरुम एक ठाउँमा भए पनि विप्सन एण्ड जिप्सनका प्रोपाइटर जनक बस्नेत भने टिकटक लाइभ बसेरै व्यापार प्रवर्द्धन गरिरहेका छन् । आफूसँग नयाँ मोडलका मोबाइल आयो कि टिकटक बनाइहाल्छन् । टिकटक लाइभमा मोबाइलको मूल्य सोध्नेदेखि पसलको लोकेशन सोध्नेसम्म आउँछन् । उनले पनि मोबाइलको क्यामेरा, व्याट्री, र्यामदेखि मूल्यसम्मको जानकारी टिकटकमै राख्छन् । ‘नेपालमा टिकटकबाट मार्केटिङ गर्ने म पहिलो व्यवसायी हुँ, नेपालमा धेरैले मेरो सिको गरिरहेका छन्, व्यापार सुरु गरेको दुई दशक भो, पछिल्लो समय टिकटकले धेरै सपोर्ट गरेको छ,’ उनले भने । उनका अनुसार उनले टिकटकबाट ग्राहक तान्न थालेको साढे तीन वर्ष भइसकेको छ । टिकटकमार्फत् मात्र दैनिक २०/२५ जना ग्राहक आउने गरेका बस्नेतको दाबी छ । उनका अनुसार टिकटक प्रयोग नगर्ने कोही नभएको र फलोवर्स पनि राम्रो भएकोले सपोर्ट भएको हो । हरेक नयाँ मोडल आउनासाथ यसबारेको जानकारी र मूल्यसहितको टिकटक बनाउने गरेको उनी बताउँछन् । २५ लिटर फ्रिजको मूल्य कति हो ? एउटा आइफोन लिनु थियो किस्तामा लिन मैले के गर्नुपर्छ ? तपाइँको पसल कहानेर छ ? यी प्रश्नहरू ए टु जेड अनलाइन पसलको आधिकारिक टिकटक लाइभमा आइरहेका प्रश्नहरू हुन् । उक्त प्रश्नको उत्तर अनलाइन पसलका विकाश भण्डारीले लहरै दिइरहेका छन् । पुतली सडकमा कार्यालय रहेको पसलमा मोबाइल, ल्यापटप, टिभी, फ्रिज, वासिङ मेसिनलगायत सामानहरू सजाइएको छ भने अनलाइनबाट अर्डरहरू पनि आइरहेको भण्डारी बताउँछन् । आफ्नो व्यापारको ८० प्रतिशत व्यापार टिकटक र फोनकलबाट हुने गरेको उनको दाबी छ । उनीहरू एक प्रतिनिधि पात्रमात्र हुन् । नेपालमा मसाज सेन्टर, व्युटिपार्लर, दोहोरी साँझदेखि अहिलेको स्थानीय तहका उम्मेदवारहरूको भाषण र घरदैलोसम्म टिकटकमै पाउन सकिन्छ । टिकटकमा भिडियो हाल्ने क्रम बढेसँगै व्यवसायीहरूको व्यापार पनि फस्टाउँदै गएको छ । पछिल्लो समय टिकटक मनोरञ्जन सँगसँगै व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने प्लेटफर्म बन्दै गएको छ । टिकटकमा रम्नेहरूको क्रेज बढेसँगै व्यवसायीहरूले यसको सदुपयोग गरी आफ्नो व्यापार प्रवर्द्धनमा लागेका हुन् । यसलाई कसैले आफ्नो दैनिक कार्यहरूको रेकर्ड राख्ने प्लेटफर्म पनि बनाएका छन् । व्यावसायीहरूको भाषामा भन्दा अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा विज्ञापन गर्दा शुल्क लाग्नुका साथै प्रत्यक्ष प्रश्नोत्तर हुन पाउँदैन भने टिकटकमा प्रत्यक्ष प्रश्नोत्तर कुरा हुनुका साथै नि:शुल्क भएकोले आकर्षण बढेको हो । जसका लागि शेयर गर्न केही सपोर्टर र फलोवर्स भने अलि राम्रो हुनुपर्छ । विज्ञापन बनाउन महँगो पैसा नलाग्ने र आफै लाइभमा बसेर सित्तैमा विज्ञापन गर्न पाइने प्लेटफर्म बन्यो टिकटक । आजकल टिकटकबाटै सुनदेखि र नुनसम्मको विज्ञापन हुन थालेको छ । त्यो पनि प्रत्यक्ष ग्राहकहरूसँग लाइभ बसेर । व्यापारीले आफ्नो नाममा वा पसलको नाममा टिकटक खोलेर विज्ञापन गरिरहेका छन् । आफ्नो पसलमा भएको सामानको भिडियो बनाएर टिकटक बनाउने क्रम बढ्दो छ । यसले आफ्नो व्यापारमा सहयोग भएको विप्सन एण्ड जिप्सन मोबाइल पार्ट्सका प्रमुख बस्नेत बताउँछन् । नेपाली बजारमा टिकटकमा भिडियो हेरेर कमेन्ट वा एसएमएसमार्फत् ग्राहकहरू व्यवसायीसँग जोडिन्छन् । अझ व्युटी पार्लरको लाइभमा मेरो अनुसार फुस्रो छ, मैले यो क्रिम लगाउँदा राम्रो भएन कुन क्रिम लगाउँ ? भन्दै सुझाव लिनेदेखि घरायसी खाद्यान्न वा कृषि उपजबाट बनाइने फेसियल सामग्री सिक्न पाइने प्लेटफर्मसम्म टिकटक बनेको छ । टिकटक हेरेरै पसलमा पुग्ने र आफैले छानेर मन परेको सामान किन्नेहरू पनि छन् । काठमाडौंको जडिबुटी बस्दै आएकी दुर्गा मगरले टिकटकमा हेरेरै नयाँ बानेश्वरबाट सनस्किन र फाउन्डेसन किनेको बताइन् । पछिल्लो समय टिकटक हेरेरै घरायसी, फेन्सी, कस्मेटिक र उपहारसम्म किन्ने चलन बढेको छ । साथै केहीको लागि टिकटक सिकाइ लिने र दिनेसमेत हुने गरेको छ । यसरी हेर्दा टिकटक कसैको लागि व्यापार प्रवर्द्धन केन्द्र भएको छ भने कसैको लागि एउटा डिमार्टमेन्ट नै भएको छ । टिकटक स्क्रोल गर्दै जाँदा आफूलाई राम्रो लाग्ने र आफूलाई चाहिने सामान भएको पसलहरूको आईडी फलो गर्ने र आवश्यकताअनुसार अर्डर गर्ने वा जानकरी दिने काम यही टिकटकमै हुन थालेको छ । जुन प्लेटफर्म पनि सदुपयोग गर्न सक्ने र जान्नेका लागि राम्रो हुन्छ भन्ने राम्रो आधार टिकटक बनेको छ । जुनसुकै प्लेटफर्म पनि आफूले सदुपयोग गरे राम्रो र दुरुपयोग गरे नराम्रो हुन्छ, त्यो टिकटक बनेको छ । किनकि यहाँ टिकटक हेर्दै जाँदा राम्रा र नराम्रा दुवै भेटिन्छ । तर, जसले सदुपयोग गरेका छन् उनीहरूको व्यवसाय फस्टाउँदै गइरहेको छ ।
रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिनेछ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको छ । उक्त योजना स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ । रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका हुन । स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो ।
महेन्द्रनगरको बागफाटामा डिशहोम फाईबरनेटको सोरुम
काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । ४०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले बताए ।