पाँच इन्जिनियरले ३० हजारमा स्थापना गरेको कम्पनीले वार्षिक ४ अर्बको कारोबार गर्दै

काठमाडौं । सन् २००० अगाडि सुधीर पराजुली र उनका चारजना साथीहरू भारतको बैङलोरमा इन्जिनियरिङ अध्ययनको क्रममा थिए । सुधीरसँगै विनय, सुरेन्द्र, अमित र दीपक स्कुल लेबलदेखि बैङलोरको अध्ययनसम्म सँगै थिए । पाँच सहपाठीलाई राम्रो जागिरको अफर आएको पनि थियो । उनीहरूले भारतमा अध्ययन गर्दाको समयमा एकातिर प्राविधिक जनशक्तिको अभाव थियो भने अर्काेतिर त्यही बेलामा सुचना प्रविधि क्षेत्र ‘बुम’ हुँदैथियो । जनशक्ति खोज्नको लागि भारतीय कम्पनीहरू कलेजहरूमा सूचना पठाउने गर्थे । पराजुली र उनका साथीहरू अध्ययनरत कलेज पनि यस्तै, राम्रोमध्येमा पर्थ्यो । उनीहरू अध्ययनरत कलेजमा पनि जनशक्ति आवश्यकताको सूचना आएको थियो । प्राविधिक क्षेत्रमा जनशक्ति अभावकै बीचमा उनीहरूलाई राम्रो जागिरको अवसरहरु पटक-पटक आएका थिए । स्कूल लेबलदेखि उच्च शिक्षा अध्ययनको क्रममासँगै रहेका उनीहरूले निर्णय गरे –अध्ययन पूरा गरेर नेपाल नै फर्कने । र, पाँचै जनाको समान धारणा थियो– विदेशमा नै जागिर सुरु गर्यौं भने यतै पलायन हुन्छौं, स्वदेशमै गएर केही गर्नुपर्छ । सोही निष्कर्षका साथ उनीहरु सन् २००० मा बैङलोरबाट इन्जिनियरिङ पास गरेर नेपाल फर्किए । त्यो समयमा विदेशमा गएर उच्च शिक्षा हासिल गरेका छोराहरु स्वदेशमा नै फर्कदा कसका बुबाआमा खुशी बन्छन् र ? ‘बुबा आमाले छोरा बिग्रने भयो, विदेशमा राम्रो जागिरको अवसर छोडेर नेपालमा आयो भनेर दु:खी बन्नुभएको थियो,’ विगत सम्झदै सुधीरले भने । वैशाख पहिलो साता सुविसुको कर्पाेरेश कार्यालय बालुवाटारमा विकाशन्युजसँग भेटका क्रममा उनले बैङलोरको पढाइ सकेर काठमाडौं आएपछि बुबाआमाले दिनुभएको प्रतिक्रिया सुनाउँदै थिए । ‘त्यो समयमा हामी उतै (भारतमा) थियौं, उता राम्रो जागिरको अफर नआएको पनि होइन, उतै जागिर खायौं, भने उतै पलाएन हुन्छौँ भन्ने सोच राखेर हामी पढाइ पूरा गरेपछि पाँचै साथीहरू नेपाल फर्कियौं,’ विगत सम्झदै उनले भने । नेपाल फर्किएपछि कुन व्यवसाय गर्ने भन्ने सोचकै बीचमा अनुभव लिनका लागि पाँचै जनाले फरक-फरक कम्पनीमा जागिर सुरु गरेका थिए । ‘हामी पाँचै जनाले विभिन्न कम्पनीमा काम गर्न थाल्यौँ, काम गर्दा अनुभवसँगै केही पैसा बचत गर्ने सोचका साथ हामीले जागिर सुरु गरेका थियौं, एक दिन पत्रिका पढ्ने क्रममा अमेरिकामा केबलमार्फत इन्टरनेट विस्तार भएको कुरामा मेरो ध्यान गयो, हामी सबै इन्जिनियर, त्यसतर्फ केही गर्ने कि भन्ने सोच राखेर मैले साथीसँग सल्लाह गरे,’ उनले सुविसु सुरुवातको कहानी सुनाउँदै थिए । सन् २००० तिर नेपालमा इन्टरनेटको गुणस्तर खासै राम्रो थिएन । त्यो समयमा नेपालमा केबल मार्फत इन्टरनेटको प्रचलन नै थिएनन् । भर्खरै सञ्चालनमा आएका इन्टरनेट कम्पनीहरुले डायलप र वायरलेस मार्फत इन्टरनेट वितरण गर्ने गरेका थिए । डायलप र वायरलेस मार्फत इन्टरनेट खासै राम्रो नभएपछि इन्टरनेटका प्रयोगकर्तासमेत सन्तुष्ट हुन सकेका थिएनन् । त्यो समयमा अमेरिकामा कोएक्सेल केबलमार्फत टीभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भएको थियो । पत्रिका पढ्ने क्रममा अमेरिकामा चर्चित बनेको डक्सिन प्रविधिको बारेमा जानकारी पाएपछि नेपालमा पनि सोही प्रकृतिको इन्टरनेट भित्र्याउने योजना बनाउँदा सुविसुको जन्म भएको सुधीर बताउँछन् । ‘हाम्रो पढाइ अनुसारकै क्षेत्र, नेपालमा किन व्यवसाय सुरु नगर्ने भनेर हामी तीन जनाबीच छलफल भयो, मैले नै साथीहरुलाई कुरा राखे, उनीहरु खुशी भए, त्यही अनुसार हामीले व्यवसाय सुरु गर्ने योजना बनायौं’, उनले भने । सो समयमा अमेरिकामा चर्चित बनेको डक्सिस प्रविधिमा इन्टरनेट र टीभी एउटै तारबाट चल्थ्यो । सो समयमा नेपालमा इन्टरनेट र टेलिभिजनका लागि छुट्टाछुट्टै तार राख्नुपर्दा खर्च महँगो हुने समस्या एकातिर थियो भने गुणस्तरीय इन्टरनेट नपाइने समस्या अर्काेतिर छदैथियो । किन सुविसु नै राखियो कम्पनीको नाम ? कम्पनी सुरु गर्ने त तय भयो । तर, नाम के राख्ने, कसरी नाम तय गर्ने भन्ने अन्योल नै थियो । यसै विषयमा छलफल हुँदै गर्दा पाँच साथीमध्य तीन जनाको नामबाट सुविसु केबल नेटको नाम राखिएको उनले बताए । ‘सुविसुमा म (सुधीर) विनय, सुरेन्द्र, अमित र दीपकले लगानी गरेका छौं, सुधीरको सु, विनयको वि र सुरेन्द्रको सुबाट हामीले सुविसु नाम राखेका हौँ, नाम जुराउँदा तीन जनाको नामबाट मिल्ने भयो र राखेका हौँ, हामी स्कूल पढ्दादेखि सँगै भयौं, सन् २००० देखि सुविसुमा सँगै छौँ’, उनले भने । लाइसेन्स पाउन ४ वर्ष केलब मार्फत इन्टरनेट सञ्चालनका लागि अनुमति पाउन ४ वर्ष समय लागेको सुधीरले सम्झिए । उनका अनुसार सन् २००० मा केबल इन्टरनेटको लाइसेन्स लिनका लागि गरेको प्रयास सफल हुन ४ वर्ष लागेको थियो । ‘हामीले केबलनेटको तयारी थाल्दा नेपालमा वायरलेस, डायलप र स्याटेलाइट इन्टरनेट सेवाका लागि लाइसेन्स दिइन्थ्यो तर, त्यो बेला केबललाई दिइने लाइसेन्सको विषयमा स्पष्ट नियम नहुँदा ४ वर्ष पर्खनुपर्याे’, उनले भने । त्यो बेला नेपालमा इन्टरनेट सेवाको लाइसेन्स दिने कि नदिने, दिँदा के कस्ता मापदण्ड अपनाउने भन्ने जस्ता विषयमा सरकारी अधिकारीहरू नै अनविज्ञ हुँदा पनि सुविसुले लाइसेन्स पाउन ढिलाई भएको हो । ‘हामी तीन जनाको कुरा भएपछि लाइसेन्सको तयारी गर्न थालियो, त्यो बेलासम्म नेपालमा केबलबाट इन्टरनेट दिइएकै थिएन, टेक्नोलोजीको लाइसेन्स दिने गरिएको थियो, सर्भिसको लाइसेन्स दिने नियम नै थिएन, केबलबाट इन्टरनेटको लाइसेन्स पाउन हामीलाई केही समय लाग्यो, लाइसेन्सको प्रक्रिया यतिकै छोडेर हामी केबल टीभीतिर लाग्यौ,’ उनले भने । बैङलोरमा पढाइ सकेर फर्किएको मान्छेले टिभी व्यवसाय गरेको भन्दै खिसी गर्नेहरु त्यो समयमा धेरै रहेको उनले सम्झिए । ‘विदेशबाट इन्जिनियरिङ पढेर आएको मान्छे, विदेशको राम्रो सेवा सुविधा छोडेर नेपाल आएको, नेपालमा आएपछि सुरु गरेको काम बीचमै छोडेको, नेपालमा जागिर सुरु गर्दा त्यो समयमा सरकारी कर्मचारीले पाउने सेवा सुविधाको चार गुणा हामीले पाएका थियौँ, सबै सुविधा छोडेर टिभीतिर लाग्दा समाजसँगै बुबा आमाले गाली गर्नुभएको थियो’, उनले विगत सुनाए । त्यो समयमा विदेश पढेर आएको मान्छेले टिभीको व्यापार (केलब टिभी) गरेको भन्दै उडाउनेहरू धेरै थिए । सबैको गाली खाएरै भएपनि पाँचजनाले केलब टीभी सञ्चालन गरेका थिए । ‘हामीले अनुमति मागेको चार वर्षपछि केबल इन्टरनेटको लाइसेन्स पायौं, त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन्’, उनले विगतको संघर्ष सम्झदै अहिले हासिल गरेको सफलतामा खुशी व्यक्त गरे । उनका अनुसार सन् २००४ देखि सन् २०१२ सम्म सुविसुले केबल इन्टरनेटको बजारमा एकछत्र राज गरेको थियो । इन्टरनेट लिनेको लाइन सन् २००४ मा केबल इन्टरनेटको लाइसेन्स पाएपछि सुविसुले बालुवाटार क्षेत्रलाई केन्द्रमा राखेर इन्टरनेट वितरण सुरु गरेको थियो । ‘हामीले बालुवाटारबाट व्यवसाय सुरु गरेका हौं, त्यो समयमा अन्य इन्टरनेटभन्दा हामीले दिएको इन्टरनेट राम्रो हुँदा धेरै ग्राहक ‘हाइपेइङ’ थिए, बालुवाटार क्षेत्रमा विदेशी धेरै बस्ने हुँदा अन्य इन्टरनेटभन्दा हामीले दिएको इन्टरटेन राम्रो हुँदा माग उच्च थियो, त्यो बेला उपभोक्ताबीच कसको घरमा पहिला जडान गर्ने भनेर झगडा पनि हुन्थ्यो, सन् २००४ देखि २००८ सम्म हामीले सास फर्न समेत पाएनौं, कुनै टोलमा इन्टरनेट जडान गर्न जाँदा झगडा नै पर्ने अवस्थासमेत आएको थियो,’ सुधीरले विगत सम्झिए । नेपालमा पहिलो पटक केबल इन्टरनेट जडान गर्ने कम्पनीको श्रेय सुबिसुलाई नै जान्छ । त्यसपछि अप्टिकल फाइबरबाट डेटा कनेक्टीभिटी जडान गर्ने श्रेय समेत सुविसुले पाएको छ । सुविसुले नै नेपालको बैंकिङ सेवालाई अत्याधुनिक बनाउन परोक्ष सहयोग पनि गरेको छ । ‘हामीले पहिलो पटक बैंकको ब्राञ्च र एटीएम जोड्ने काम गरेका हौं, हामीले गर्दा नै एउटा बैंकबाट केही घण्टामै अर्काे बैंकको चेक सटही हुन थालेको हो, त्यो समयमा एउटा चेक सटही गर्न धेरै समय लाग्थ्यो, अहिले केही मिनेटमै काम हुन्छ’, उनले भने । उनका अनुसार बैंक तथा वित्तीय संस्था, लघुवित्त, विदेशी नियोग, एनजीओ आइएनजीओ लगायत अनलाइन मार्फत कारोबार हुने सरकारी कार्यालयमा सुविसुको इन्टरनेट जडान भएका छन् । ३ लाख ग्राहक अहिले सुविसुको ग्राहक तीन लाख रहेका छन् । जसमध्ये टिभीका ग्राहक १ लाख र इन्टरनेटका ग्राहक २ लाख छन् । हाल ब्रोण्डब्याक इन्टरनेटका ग्राहक १३ लाख रहेका छन् । इन्टरनेट बजारमा सुविसुको बजार हिस्सा २० प्रतिशत रहेको कम्पनीको भनाइ छ । कम्पनीले गत वर्ष ३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । पाँच जना साथीले जागिर गर्दा जोगाएको ३० हजार रुपैयाँबाट लगानी सुरु भएको सुविसुले वार्षिक ३ अर्ब बढीको कारोबार गर्न थालेको हो । चालु आर्थिक वर्षमा ४ अर्ब २० करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य कम्पनीले राखेको छ । कारोबार रकम धेरै भए पनि पछिल्लो समय नाफामा कमी आएको उनको भनाइ छ । अहिले नयाँ कम्पनीसँगै प्रतिस्पर्धा बढे पनि गुणस्तर खस्किएको सुधीरको स्वीकारोक्ति छ ।

डिशहोमले ल्यायो एकैपटक २०० जनाले चलाउने मिल्ने वाइफाइ प्रविधि

काठमाडौं । डिशहोम फाइबरनेटले धेरैजना मानिसहरू भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन्स बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा कम्पनीले शनिबार यो प्रविधिको लन्च गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरू भित्राउन आफूहरू पहिलो हुने गरेको अनुभव सुनाए । आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै आज लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरूले लन्च गरेको बताए । डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । क्याम्पस वाईफाई सोलुसन्सको सबैभन्दा ठूलो विशेषताको रुपमा रहेको धेरैजनाले एकै पटक वाईफाई चलाउन मिल्ने भन्दै एउटै एपीबाट एक पटकमा २०० जनाभन्दा बढी कनेन्ट भएर वाईफाई चलाउन सक्ने बताउछन् ।

पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारहरूले गरे क्यान इन्फोटेक अवलोकन

काठमाडौं । आइएमइ पेको मुख्य प्रायोजनमा जारी क्यान इन्फोटेक २०२२ को पाँचौं दिन सुचना प्रविधिसम्बन्धी कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ भोलि सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र सागर लम्साल ‘बले’तथा र्‍याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् । हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ । इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ । इन्फोटेकमा बिभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।