गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् । अन्नपूर्ण केवलकार पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको हो । गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५१ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।

फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम गरेका थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटि क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटिदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्‍याउने विश्वास लिइएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायत कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।

ई-सिम उपलब्ध गराउँदै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरूलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ । उक्त अवसरमा प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ-नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरिन् । अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत विभिन्न कार्य गर्न सकिन्छ ।