काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्र ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ । त्यसको भोलिपल्ट अर्थात चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ । कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ । काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ । त्यस्तै, पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन् । वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड बाहिरियो: अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी लगायत अवैधरुपमा भइरहेको डिजिटल कारोबारबाट दैनिक ५० करोडसम्म नेपाली मुद्रा बाहिरिने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता कारोबार नियन्त्रणका लागि सरकारले संयन्त्र परिचालन गरेको उनले बताए । सोमबार बिहान रुकुममा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । साथै उनले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन हाल कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए । उनले प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । त्यस्तै, उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए । यद्यपि, मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले आत्तिनुपर्ने स्थिति नरहेको बताए ।

सीआईबीको निगरानीमा प्रियंका, क्रिप्टोकरेन्सीकाे कारोबार गरेको आशंका

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले नायिका कार्कीमाथि अनुसन्धान थालेको हो । सीआईवीले  अनुसन्धानका लागि उनलाई आज (आइतबार) बोलाएको बुझिएकाे छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्न उनलाई बोलाएको बुझिएकाे हाे । कार्कीले कही समय अघि क्रिप्टोकरेन्सीबारे बताउँदै भिडियो पोस्ट गरेकी थिइन् ।  नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’ अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारवाहीको चेतावनी दिँदै आइरहेको छ ।