क्रिप्टो कारोबारीकाे सञ्जालमा पस्यो प्रहरी, पक्राउ गरेर धमाधम मुद्दा, के हुन्छ कारवाही ?

काठमाडौं । पछिल्लो समय प्रहरीको केन्द्रबिन्दुमा क्रिप्टो कारोबारीहरु परेका छन् । क्रिप्टोको अनलाइन कारोबार गरेर छोटो समयमै मनग्य कमाउन पाइने आशामा क्रिप्टो कारोबारीहरु बढ्दा उनीहरु प्रहरीको ‘टार्गेट’मा परेका हुन् । गत माघ ७ गते मात्रै नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परे । पक्राउ पर्नेमा पवर्तका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ थिए । पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको थियो भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको थियो । पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको थियो । यस्तै, माघ ११ गते राजश्व अनुसन्धान विभागले अवैध रुपमा विदेशी मुद्रा कारोबार गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो । विभागले क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ–स्क्रिल र बियान्कामार्फत अवैध कारोबार गर्ने कैलालीका दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी साथी अनिता धितालविरुद्ध अदालतमा मुद्दा दायर गर्यो । उनीहरुले ३७ करोड बढी कारोबार गरेको देखिएको थियो । हाल उनीहरु धरौटीमा छुटिसकेका छन् । याे बिचमा क्रिप्टाेकाे काराेबार गर्ने धेरै प्रहरीकाे फन्दामा परे । चैत १ गते बुधबार पनि राजश्व अनुसन्धान विभागले क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्द मुद्दा दायर गरेको छ । विभागले विदेशी विनिमय गर्ने पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । दुवै जना मोरङ रतुवाई नगरपालिकाका हुन् । उनीहहरुले गैरकानुनी रुपमा ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ करोबार गरेको भेटेको हो । विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलोमतो गरी मोबाइल एप्स एलएक्सवेट, एडीभी क्यास, क्वाइनवेस, प्याक्सफुल प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागको ठहर छ । विभागका अनुसार नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई लिएर दायर गरिएको यो दोस्रो मुद्दा हो । विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले कानुनले प्रतिबन्धित गरेको विदेशी मुद्रासम्बन्धी काम भइरहेको पछिल्लो घटनाले पुष्टि गरेको बताए । ‘यसले नेपालमा भएको वैदेशिक मुद्रा पनि बाहिरिने र बाहिर भएको विदेशी मुद्रा पनि नेपालमा नआउनेतर्फ इङ्गित गर्छ, हामीले यो विषयलाई गहन ढंगले हेरिरहेका छौं,’ उनले भने । कारोबार नगर्न निर्देशन नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । मंगलबार मात्रै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो । छिमेकी देशमा पनि छैन मान्यता नेपालमा मात्रै होइन छिमेकी देश भारत र चीनमा पनि क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फण्ड लगायतका भर्चुअल करेन्सीको विषयमा वहस भइरहेको छ । क्रिप्टोकरेन्सीलाई मान्यता दिने वा नदिने भन्ने विषयमा सरकार र विभिन्न निकायबीच छलफल लामो समयदेखि हुँदै आएको छ । तर, छिमेकी देश भारत र चीनमा पनि यसलाई मान्यता दिइएको छैन । कतिपय देशहरूमा क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता दिएको पाइन्छ । सूचना अधिकारी पाण्डे नेपालमा यसलाई बैधानिक बनाउन कानुन नै परिमार्जन गरिनुपर्ने बताउँछन् । अहिले केही मानिसले सर्वसाधारणलाई प्रलोभनमा पारेर प्रतिबन्धित क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाएको देखिएको जानकारहरु बताउँछन् । तर, अझै पनि यसलाई मान्यता दिने विषयमा भने सरकारीस्तरबाट खासै चासो दिएको जस्तो देखिँदैन । अहिले पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरुलाई सरकारले सुक्ष्म रुपमा निगरानी पनि गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले पटक–पटक सूचना जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गर्दै आएको छ । के हुन्छ कारवाही ? विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैंकबाट इज्जाजतपत्र लिनुपर्ने उल्लेख हुन्छ । विदेशी विनिमयसँग सम्बन्धित कसुरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था कानुनमा छ । इजाजतप्राप्त व्यक्तिले बैङ्कको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इज्जाजतपत्र रद्द गर्न सकिने व्यवस्था कानुनमा छ । उक्त ऐनसँग जोडिएका कसुरसँग सम्बन्धित विदेशी विनियमलाई जफत गर्ने साथै बिगो बमोजिमको जरिवाना गर्ने र त्यसमा तीन गुणासम्म जरिवाना गराउन सकिने कानुनमा उल्लेख छ  ।

बिटक्वाइनलाई नेपालभित्र प्रयोग गर्न नपाउने गरी बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयको मन्त्रिस्तरिय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो ।

पहिल्यै सुचना चुहिदा टेलिकको सेयर मूल्य एक वर्षमै दोब्बर, कति दिदैछ बोनस सेयर ?

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिइनेछ । संचालक समितिको यो निर्णय सम्बन्धित नियामक निकायको स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जानेछ । कम्पनीले आगामी चैत २४ गते वार्षिक साधारणसभा बोलाएको छ । टेलिकमको बोनस सेयर चैत ९ सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् । कम्पनीको अहिले चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । २० प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा सरकारको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । कम्पनीले बोनस सेयर दिएपछि सरकारले पाउने नगद लाभांश कम हुनेछ । सरकारका आम्दानीका स्रोत खुम्चिएर राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था भएको समयमा राम्रो नाफा गरिरहेका कम्पनीबाट सरकारले नगद लाभांश नपाउने अवस्था सिर्जना हुँदा सरकारको आम्दानी प्रभावित हुनेछ । यद्यपि, टेलिकमले बोनस सेयर दिएको भने यो पहिलो पटक हो । यसअघि कम्पनीले नगद लाभांश मात्रै दिएको इतिहास छ । टेलिकमले यसपाली बोनस सेयर दिदैछ भन्ने सु्चना पहिला नै बाहिरिएको थियो । यसरी सुचना वाहिरिएपछि कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । गत जनवरी २ मा टेलिकमको सेयर मूल्य प्रतिकित्ता १३०३ रुपैयाँ थियो । कम्पनीले बोनस सेयर दिदैछ भन्ने सुचना बाहिरिएपछि मूल्य बढेर २२ फेब्रुअरीमा प्रतिकित्ता १७९९.९ रुपैयाँसम्म पुग्यो । एक वर्षको बीचमा कम्पनीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ९७२ रुपैयाँ थियो । मार्च १४ (हिजो) कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२९.९ रुपैयाँसम्म पुगेको थियो भने प्रतिकित्ता १७१४ मा कारोबार बन्द भएको थियो । कम्पनीले बोनस सेयर दिने हल्ला चलेपछि एक वर्षको अवधिमा सेयर मूल्य करिब दोब्बर भएपनि कम्पनीले दिने लाभांश भने घट्न थालेको छ । कम्पनीले यसअघि ५० प्रतिशतभन्दा बढीको लाभांश दिने गरेको भएपनि यसपाली भने ४० प्रतिशत मात्रै दिने घोषणा गरेको छ ।