५ महिनामा ४८ देशबाट २३ अर्ब बढीको मोबाइल फोन आयात

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड अगाडी न्यून मात्रामा आयात हुँदै आएको फोन पछिल्लो समय आयातको उच्च स्थानमा पर्ने गरेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनाको अवधिमा नेपालमा विभिन्न देशबाट करिब २३ अर्ब बराबरको मोबाइल फोन आयात भएको छ । तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २२ अर्ब ९७ करोड २४ लाख रुपैयाँ बराबरका ३० लाख ६० हजार ४३७ वटा मोबाइल आयात भएका छन् । गत वर्षको सोही अवधिमा १७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ वटा मोबाइल नेपालमा भित्रिएको थियो । तथ्यांक अनुसार मंसिर महिनामा मात्रै दुई अर्ब ६१ करोड ३८ लाख मूल्य बराबरका चार लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको छ । ४८ देशबाट फोन आयात भन्सारले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पाँच महिनामा विभिन्न ४८ देशबाट मोबाइल फोनको आयात भएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएको छ । चीनबाट १३ अर्ब ५६ करोड बढी आयात भएको छ । चीनपछि भारतबाट धेरै फोन आयात भएको छ । भारतबाट ८ अर्ब ४४ करोडभन्दा बढीको छ लाख १ हजार ५ सय ४२ मोबाइल भित्रिएका छन् ।

सरकारद्वारा केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताए । मन्त्री कार्कीले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने र यसकाे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताए । कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम र एनसेल) मार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्नेछन् । सेवाग्राहीले पनि सम्बन्धित सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।

एनसेलले ल्यायो साना व्यवसायी लक्षित प्रिपेड प्लान, मासिक रकम तिर्न नपर्ने

काठमाडौं । एनसेलले साना तथा मझौला व्यवसायी र कार्यालयलाई लक्षित गर्दै ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान ल्याएको छ । कम्पनीले साना व्यवसायीको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो । यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्नपर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स-साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ । बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रबार (पुष २) बाट लागु हुने गरि यो योजना ल्याइएको हो । ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा पाउँछन् । ग्राहकले एकपटक मात्र कर सहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन् । यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् । बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स-साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ । यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरि बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् ।