एनटीसीकाे नाफा ५ अर्ब ८९ करोड रुपैयाँमा सीमित, यसकारण घट्यो नाफा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) ले चालु आवको ९ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तमा ७ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ५२.३६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैत मसान्तसम्मा कम्पनीको प्रतिसेयर आम्दानी ६७.२७ रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ६५३.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीको लगानी भने बढेको छ । गत वर्षको तुलनामा कम्पनीको लगानी १० प्रतिशतले बढेर ६१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसकारण घट्यो कम्पनीको नाफा तथा व्यवसाय काभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आर्थिक वर्षमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको कन्जुम्सन बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको कम्पनीको भनाई रहेको छ । यो महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको छ । समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी तथा फिट्थ जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई कम्पनीको नाफामा असर परेको छ ।

कनेक्ट आईपीएस मार्फत एक महिनामै डेढ खर्ब रूपैयाँको कारोबार

काठमाडौं ।  पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७७ अनुसार चैत महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्र एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो । चैत महिनामा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । गत फागुन महिनामा १६ लाख पटक प्रयोग भएको थियो । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा वृद्धि भएको हो ।

निषेधाज्ञामा पनि सेवाग्राहीलाई सेवा दिन तल्लीन छौंः निलेशमान सिंह प्रधानकाे विचार

सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्था वाहेक सबै संघ संस्था बन्द छन् । यो बेला आम सर्वसाधारण र अन्य संस्थाहरूका लागि पनि डिजिटलमा बढी अभ्यस्त हुने र प्रविधिसँग झन बढी नजिक हुने समय हो । अहिले निषेधाज्ञा भएकोले पनि प्रविधिको प्रयोगले काम गर्नु वाहेको विकल्प छैन । यही समयमा हामीले पनि झन बढी सक्रिय भएर हाम्रा सदस्य ग्राहकलाई सेवा दिइरहेका छौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण झन तीव्र रूपमा फैलिरहेको भए पनि हामीलाई यो समयमा झन बढी खटिएर काम गर्नु पर्ने जिम्मेवारी बढेको छ । अहिले हामीले हाम्रा सम्पूर्ण कर्मचारीह?लाई वर्क फ्रम होमको व्यवस्था गरेका छौं । हामीले डिजिटल्ली ?पमा बढी काम गर्ने भएकोले पनि घरबाटै काम गर्न पनि सहज भइरहेको छ । तर, अफिसमा नआई नहुने कर्मचारीहरू भने आइनै रहेका छौं । निषेधाज्ञामा अलिकति गाह्रो त भइहाल्छ । तर काम गर्दा गत वर्षको जस्तो असहज परिस्थिती भने हामीलाई छैन । निषेधाज्ञा भए पनि हाम्रो कारोबारमा असर परेको छैन । जहिले पनि सबै काम प्रविधि मार्फत हुने भएकोले पनि कारोबारमा खासै परिवर्तन देखिँदैन । तर, चेक क्लियरिङमा भने केही गिरावट आएको छ । क्लियरिङ हाउसले सबै प्रकारका भुक्तानी प्रणालीमा काम गर्नका लागि त्यस अनुरूपका पूर्वाधार निर्माण गरेको छ र गरिनै रहनेछ । अहिले इकोनोमिक एक्टिभिटिज नभएको बेला अवश्य नै कारोबार बढ्ने भन्ने त हुँदैन । अहिले चेकको कारोबार तथा डेटा ट्रान्जेक्सन कम छ । आइपीएस र कनेक्ट आइपीएसको कारोबार भने बढेको देखिन्छ । हामी सामान्य अवस्था अर्थात चैतसम्म जुन अवस्थामा थियौं त्यही रेसियोमा नै अहिले अगाडि बढिरहेका छौं । चेकको कारोबार भने निषेधाज्ञा हुनु अगाडिको तुलनामा आधा जस्तै छ । चैत मसान्तसम्मको तथ्यांक हेर्न हो भने हाम्रो दैनिक एभरेज चेक ट्रान्जेक्सन ५०/५५ हजार हो । अहिले निषेधाज्ञाको समयमा दैनिक एभरेज ३२ हजारदेखि ३५ हजारसम्म ट्रान्जेक्सन भइरहेको छ । कनेक्ट आइपीएसमा दैनिक ६०/६५ हजार एभरेज ट्रान्जेक्सन हो । अहिले पनि त्यही रेसियोमा भइरहेको छ । डिजिटल ट्रान्जेक्सन प्रयोग गर्नको लागि बैंक वा कुनै संस्थामै जानु पर्छ भन्ने हुँदैन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआरकोड र हाम्रो आफ्नै एप पनि छ । यी विभिन्न माध्यमबाट सेवा लिन सकिन्छ । यी विभिन्न माध्यम प्रयोग गर्ने प्रयोगकर्ताको संख्या भने बढेको छ । सामान्य अवस्थामा क्लियरिङ हाउसले सञ्चालनमा ल्याएका सबै भुक्तानी प्रणालीहरू (चेक, आईपीएस, कनेक्ट आईपीएस) बाट दैनिक २ लाखदेखि २ लाख ५० हजार कारोबारमार्फत ४०/४५ अर्ब ?पैयाँ हाराहारीको भुक्तानी हुने गरेको छ । यो वर्षको तथ्यांक हेर्ने हो भने हालसम्म (बैशाख २८ मंगलबार) १ करोड २० लाख चेक ट्रान्जेक्सन भएको छ । त्यसमार्फत ७.६ ट्रिलियन रूपैयाँ कारोबार भएको छ । यस्तै, आइपीएसमा ९२ लाख ट्रान्जेक्सनमार्फत करिब २ ट्रिलियन रूपैयाँ भुक्तानी भएको छ । कनेक्ट आइपीएसमा पनि १ करोड ३४ लाखको ट्रान्जेक्सनमार्फत ०.९५ ट्रिलियन रूपैयाँ भुक्तानी भएको छ । हामीसँग जोडिने सदस्यहरू पनि बढ्दै गएका छन् हालसम्म बैंक तथा वित्तीय संस्थाहरूमा चेकमा ६४, आइपीएसमा ६२ र कनेक्ट आइपीएसमा ५४ वटा सदस्य रहेका छन् । यस्तै, अन्य पीएसपी, पीएसओ, नेपाल सरकारको र गैरवित्तीयसंस्थाहरू गरेर कुल ३५ वटा सदस्य हामीसँग जोडिनु भएको छ । यस्ता प्रणाली सञ्चालन गर्ने संस्थाले सुरक्षाका आधारभूत पक्ष पनि अपनाउनुपर्छ । यस्तै, प्रयोगकर्ता पनि सजग हुनु पर्ने अवस्था छ । प्रयोगकर्ताले आफ्नो पासवर्ड, पिन नम्बरजस्ता गोप्य विवरण कसैलाई पनि दिनु हुँदैन । यस्तै, आइपीएस, कनेक्ट आइपीएसमार्फत कारोबार गर्दा शुल्क सस्तो पनि पर्छ । हामीले रकमका आधारमा शुल्क तय गरेका छौं । इपीएसको हकमा २ रूपैयाँदेखि १० रूपैयाँसम्म शुल्क लिन्छौं । कनेक्ट आएपीएसमा २ देखि १५ रूपैयाँसम्म शुल्क लाग्छ । भुक्तानी प्रणालीहरूमा प्राविधिक पूर्वाधारका काम हुने भएकाले विभिन्न प्राविधिक चुनौती अवश्य नै हुन्छ । सेवाग्राहीले पनि प्रविधि सम्बन्धि धेरै कुरा बुझ्न र सिक्न आवश्यक छ । हामीले सेवाग्राहीलाई सचेत बनाउनै बाँकी छ जस्तो लाग्छ । (नेपाल क्लियरिङ हाउसका सीईओ प्रधानसँग गरिएको कुराकानीमा आधारित)