नेपाल बैंकले सुर्खेतमा शुरू गर्यो क्यूआर कोड सेवा, कर्णाली प्रदेशमै पहिलो
काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो । बैंकले डिजिटल सुर्खेत महाअभियान अन्तर्गत उक्त सेवा शुरु गरेको हो । जसको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् । उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका उक्त सेवाको शुरुवात गरेको हो । साथै, सञ्चालक मरासिनीले समयको परिवर्तनशीलतलाई आत्मसाथ गरि प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।
थपिँदै फोरजीका ग्राहक, ८४ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट
काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७० लाख भन्दा बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७० लाख ९२ हजार ८०५ पुगेको हो । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । सात महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना पुगेको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा २ लाख ३९ हजार ७९७ बढेका छन् । प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ४४ हजार पुगेका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा एक लाख ६१ हजार ४६८ जना थपिएका छन् । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २२ हजार रहेका छन् । गत पुसको तुलनामा माघ महिनामा २ हजार ४३७ जना थपिएका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फोरजीका प्रयोगकर्ता सगैँ गत पुस महिनाको तुलनामा माघ महिनामा एक लाख बढी थ्रीजीका प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा एक करोड १२ लाख बढी प्रयोगकर्ता रहेकोमा माघ महिनामा १ करोड १३ लाख ५१ हजार बढी प्रयोगकता रहेका छन् । नेपालमा कुल जनसंख्याको ८४ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । सात महिनाको तथ्यांक अनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा कूल २ करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।
अब १० हजार फिट माथिको नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उडान गर्ने वायुसेवा कम्पनीलाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । प्राधिकरणका अनुसार अनुसार अब नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीका यात्रुले इन्टरनेट प्रयोग गर्न पाउने भएका हुन् । गत चैत ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले साे निर्णय गरेको हो । यद्यपि, प्राधिकरणले नेपाली वायु सेवा कमपनीहरुलाई भने साे सेवा उपलब्ध गराउने छैन । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार विदेशी वायुसेवा कम्पनीकाे विमान (जहाज) भित्र प्रयोग हुने ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन आएमा स्वीकृति दिनेछ । उनले विदेशी वायुसेवा कम्पनीलाई आकाशमा इन्टरनेट सञ्चालनको लागि विभिन्न शर्त पनि राखेकाे पनि बताए । प्राधिकरणले १० हजार फिटभन्दा माथि उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संस्था (आइकाओ) ले तोकेका नियम तथा मापदण्डको पालना गर्नुपर्ने लगायतका शर्त पालना गर्नु पर्ने जनाएकाे छ । यी शर्त पालना गरेपछि मात्रै प्राधिकरणले सम्बन्धित विमानमा मोबाइल र इन्टरनेटको प्रयोगको अनुमति दिनेछ । यसअघि प्राधिकरणमा आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि ३ वटा कम्पनीले आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । यसअघि भारत र अफगानिस्तानले १० हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एसियाकै तेस्रो देश नेपाल बनेको छ ।