फागुनमा कनेक्ट आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँको कारोबार, माघको भन्दा ६ अर्ब बढी

काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा मात्र ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो । यो अबधिमा १६ लाख पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । माघ महिनामा १५ लाख ४५ हजार पटक प्रयोग भएको थियो । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो ।

टेलिकमकाे नयाँ वर्ष अफर: १४ जिबी डाटा मात्र २९९ रुपैयाँमा

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छन् । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको कम्पनीले जानकारी दिएकाे छ । नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ मा उपलब्ध गराइएको छ । स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ । साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ । नयाँ वर्षको अवसरमा कम्पनीले जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याएकाे छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ । कम्पनीकाे अनुसार सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ । यस्ता विभिन्न इन्टरनेट प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

कास्कीका औषधी व्यवसायीले क्युआर कोडबाटै भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनर सीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले इसेवा लगायत आफ्ना अन्य सदस्य मार्फत डिजिटल कारोबार प्रवद्र्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधी व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडी बढाइरहेको इसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ । डिजिटल पोखराको अभियानमा इसेवाले तीव्र गतिमा काम गरिरहेको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४२ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।