साइबर सुरक्षालाई सजिलो बनाउँदै साइनिकल टेक्नोलोजी, एथिकल ह्याकरहरूलाई कमाउने अवसर

मानौं, तपाईंको वेवसाइटबाट डाटा लिक भयो, अब के गर्ने ? तपाईंको वेवसाइटबाट डाटा लिक भएर प्रयोगकर्ताको गोपनियता बाहिरियो, त्यस्तो बेला के गर्ने ? सरकारी तथा निजी कम्पनीहरूले बेलाबेला यस्तै समस्याबाट हैरानी भोग्नु परेका घटना छन् । यस्तै खालका साइबर खतराहरूबाट बचाउन र सुरक्षा प्रदान गर्न सञ्चालनमा आएको छ, साइनिकल टेक्नोलोजी । जसको स्थापना गरेका छन्, नेपाली युवा नरेश लाम्गादेले । ह्याकरहरूलाई पनि खुसीको खबर छ । तर, त्यो सुनाउनु अघि साइनिकल टेक्नोलोजीको प्रसंग जोडौं । साइनिकल टेक्नोलोजी साइबर सुरक्षा प्रदान गर्ने एक स्टार्ट अप कम्पनी हो । कुनै कम्पनीको वेवसाइटमा समस्या आउँदा, वा कम्पनीको प्रोडक्टबाट डाटा लिक हुँदा साइनिकल टेक्नोलोजीले त्यसको हल गर्नेछ । यो सुविधा लिन निश्चित शुल्क तिरेर साइनिकल टेक्नोलोजीमा कम्पनीहरू आवद्ध हुन सक्नेछन् । मासिक रुपमा शुल्क तिर्नुका साथै बगको अलग रकम तिर्नु पर्नेछ । यतिमात्रै होइन, नेपालमै पहिलो पटक यस कम्पनीले बग बाउन्टी प्लेटफर्म बगभि (BugV) शुरु गरेको छ । यो यस्तो प्लेटफर्म हो, जहाँ संसारभरका ह्याकरहरु संगठित हुन सक्नेछन् । यसमा ह्याकरहरू नि:शुल्क रुपमा रजिस्टर हुन सक्नेछन् । अब शुरू गरौं ह्याकरहरुको कुरा । ह्याकर भन्ने वित्तिकै नकारात्मक रुपमा लिईन्छ । तर, एथिकल ह्याकरको महत्व बेग्लै छ । साइबर खतराहरुबाट जोगाउन एथिकल ह्याकरले ठूलो भूमिका खेल्ने गर्छन् । संसारका एथिकल ह्याकरले कुनै प्रोडक्टको कमजोरी पत्ता लगाएर ठूलो रकम कमाउँन सक्छन् । नेपालमै पनि यस्ता एथिकल ह्याकरको संख्या थपिदै गएको छ । सूचना तथा प्रविधिमा चासो राख्ने त्यस्ता एथिकल ह्याकरका लागी साइनिकल टेक्नोलोजीले एउटा प्लेटफर्म खडा गरेको छ । र, बग बाउन्टी प्लेटफर्म बगभि त्यसैको उदाहरण हो । यसमा रजिस्टर भएका एथिकल ह्याकरले कुनै पनि कम्पनी र तिनका प्रोडक्टहरुको कमजोरी पत्ता लगाएर त्यसबापत रिवार्ड प्राप्त गर्न सक्नेछन् । यो प्लेटफर्मले एथिकल ह्याकर र कम्पनीबिच जोड्ने काम गर्नेछ । मानौं कुनै कम्पनीको वेवसाइट, वा कुनै प्रोडक्टमा समस्या आयो । कहाँ रिपोर्ट गर्ने ? कसलाई भन्ने ? सल्लाह दिन खोज्दा पनि सम्बन्धित मानिस भेट्टाउन गार्‍हो छ । रिपोर्ट गरिहाले पनि राम्रो प्रतिक्रिया नपाईने अर्को समस्या छ । तर, यो प्लेटफर्ममा आवद्ध कम्पनीले त्यस्तो झन्झट भोग्नु पर्ने छैन । एथिकल ह्याकर र सेवाग्राहीलाई यसले थप सजिलो बनाईदिनेछ । पहिलो कुरा त साइबर सुरक्षाका बारेमा मानिस कमै जानकार छन् । त्यसमाथि यो सेवाको प्रयोग बढी नै खर्चिलो छ । सबैसँग ठूलो बजेट हुँदैन । बग बाउन्टी प्लेटफर्म बगभिबाट सेवा लिदा सिस्टमको होईन बगको मात्र पैसा तिरे पुग्छ । साइनिकल टेक्नोलोजीलाई सीइओका रुपमा हाँकिरहेका छन्, २५ वर्षिय युवा नरेश लाम्गादेले । उनी प्रधानमन्त्री कार्यालयका साइबर सुरक्षा विश्लेषक समेत हुन् । साइनिकल टेक्नोलोजीलाई उनी अन्तराष्ट्रिय स्तरमा फैलाउन चाहन्छन् । ‘संसारभरका एथिकल ह्याकरलाई जोड्ने हाम्रो प्रयास हो ।’ नरेशले विकासन्युजसँग भने, ‘प्रोडक्ट म्याचुअर्ड भएपछि विदेश लैजाने विचार छ ।’ यसरी शुरु भयो साइनिकल टेक्नोलोजी फुटबलमा निकै रुचि राख्थे बिर्तामोड झापाका नरेश लाम्गादे । उनी क्रिश्ट्यिानो रोनाल्डोका फ्यान । १० कक्षा पढ्दै गर्दा उनको खुट्टामा समस्या आयो । त्यसपछि उनको लत कम्प्युटरसँग बस्यो । घरमा कम्प्युटरमै गेम खेलेर उनको दिन बित्थ्यो । साइबर क्याफे धाएर इन्टरनेट सर्फ गर्दै नयाँ–नयाँ कुरा सिक्न, एक्सप्लोर गर्न उत्तिकै हौसिन्थे । एक दिन एउटा सिडी फेला पारे जसमा इथिकल ह्याकिङका बारेमा भिडिओ थियो । त्यो भिडिओले त ह्याकिङप्रति उनको रुचि झन् बढायो । रातभर नसुती नसुती उनको यसबारे सिक्न थाले । पछि कलेजमा त सबैले ह्याकर भनेर चिन्न थालिसकेका थिए । इसेवाको लुप होल पत्ता लगाएबापत जागिर नै पाएका उनले एनसेलको कमजोरी पत्ता लगाएर ल्यापटप हात पारे । नरेशले गुगल लगायत अन्तराष्ट्रिय प्रोडक्टहरुको कमजोरी पत्ता लगाए बापत राम्रै पैसा हात पारे । कति पैसा कमाए ? यसको जवाफ उनी ठ्याक्कै दिन चाहदैनन् । साइबर सुरक्षाबारे अन्य आइटी कम्पनीहरु नभएपछि उनले यसमा सम्भाबना देखे । कलेजको पढाई सकेपछि सन् २०१७ मा उनले साइनिकल टेक्नोलोजी खोले । ५ लाख रुपैंयाँ भन्दा कम बजेट र ५ जना कर्मचारीबाट सञ्चालन गरिएको यस कम्पनीमा अहिले १६ जना स्टाफ पुगिसकेका छन् । पुरानो बानेश्वरको सानो कोठामा जन्मिएको साइनिकल अहिले मैतिदेवीस्थित शारदा भवनको भव्य महलमा सरेको छ । नेपाल टेलिकममा इन्टर्न, इ–सेवा र कान्तिपुर मिडियामा साइबर सेक्युरिटी सेक्सनमा काम गरिसकेका नरेशको सञ्जाल फैलिदै छ । सरकारी संयन्त्रका अधिकारी र निजी कम्पनीका कर्मचारीलाई भेटेर उनले साइबर सुरक्षाका बारेमा पर्याप्त छलफल गरिसकेका छन् । ‘सबैले यो विषयलाई गम्भिरतापुर्वक लिनु भएको छ ।’ उनले सुनाए ‘बिस्तारै हाम्रो कम्पनीले हाम्रो सेवा लिन थालिसकेका छन् । साइबर खतरालाई सजिलोसँग समाधान गर्न उनको टिम सक्रिय छ । यस क्षेत्रमा क्रान्ति नै गर्ने उनको सपना छ । यतिबेला साइनिकल टेक्नोलोजीले गुगलको लागि समेत काम गर्दै आएको छ । गुगलले यस कम्पनीलाई प्रोजेक्ट दिन्छ । र, त्यसबापत निश्चित रकम दिन्छ । अझै अन्तराष्ट्रिय प्रोजेक्टहरु द्रुत गतीमा अघि बढाउने लक्ष्य रहेको छ । साइबर सुरक्षाका क्षेत्रमा विभिन्न इभेन्ट, सेमिनार, मोटिभेसन कार्यक्रम गर्दै आएको छ । ह्याकिङ विषयमा प्रतिष्पर्धा गराएर पुरस्कार दिएर हौस्याउदै पनि आएको छ । ‘५ वर्षपछि आफूलाई कुन स्थानमा पाउनु हुन्छ ?’ नरेशलाई सोधियो । ‘कम्पनीले ठूलो रुप लिन्छ होला । दु:ख गरेपछि त सफल त हुनै पर्‍यो नि ।’ उस्तै मुस्कान दिदै नरेश जवाफ फर्काए ।  

एनसेलले ल्यायो विद्यार्थीका लागि अडियो क्लास, मात्र १४ रुपैयाँमा एक हप्ता सुन्दै सिक्न सकिने

काठमाडौं । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । यसबाट विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्नेछन् । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको कम्पनीले छ । पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन् । एनसेलकाे अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ । विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्नेछन् । ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्नेछन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्ने कम्पनीले बताएकाे छ । अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्नेछन् । कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र ७ मा फेरी खरिद गर्न सक्छन् । यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

कागजपत्र लिन थप २ वटा ट्राफिक कार्यालयमा प्रविधि विस्तार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको ट्राफिक भ्वाइलेसन रेकर्ड सिष्टम(टीभीआरएस) सफ्टवेयर आज पुस २४ गतेदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरवार रमहानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो । यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयकोबचत हुने जानकारी उनले दिए । सिंहदरवार एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरुसोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरवारबाट तथा जनसेवा एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ । यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयां बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए । उनले भने – “मापसे, लेन र रात्तो बत्ती कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ।”