टेलिकमले थप्यो नयाँ सेवा, आजदेखि आईपी टिभी सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरु गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेलिकमले यो सेवा सञ्चलनमा ल्याएको हो । टेलिकमले प्रदान गर्न लागेको सेवाले उपभोक्ताहरुलाई विभिन्न स्वदेशी तथा विदेशी टिभी च्यानल, भिडिओ हेर्न सहज हुनेछ । अहिलेसम्म एनटीटिभी ब्राण्डमा ‘फाइबर टु द होम’ (एफटीटीएच) मार्फत भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउदै आएको नेपाल टेलिकमले आजबाट आइपी टिभी सेवा सुरु गरेको हो । यो सेवा संचालनमा आएपछि उचित मूल्यमा उपभोक्ताहरुले घरमै बसिबसी टिभी, इन्टरनेट र टेलिफोन सेवा लिन सक्नेछन् । टेलिकमले स्वदेशी तथा विदेशी च्यानलहरु प्रिमियम र बेसिक गरेर दुई प्याकेजमा उपलब्ध गराएको छ । उपभोक्ताले आफ्नो छनौट अनुसार प्याकेज खरिद गर्न सक्नेछन् । जसअन्तर्गत बेसिक प्याकेजको मूल्य (एक टिभी) प्रतिमहिना एक हजार २ सय ३०, ३ महिनाको ३ हजार ५ सय ३० र एक वर्षको शुल्क १३ हजार २ सय २० रुपैंया“ तोकिएको छ । यसमा १५ एमबिपिएस इन्टरनेट, निःशुल्क टेलिफोन र एनटिटिभी सेवा उपलब्ध हुनेछ । त्यस्तै प्रिमियम प्याकेजमा प्रतिमहिना एक हजार ४ सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको पन्ध्र हजार रुपैंया“ शुल्क तोकिएको छ । टेलिकमका अनुसार एकभन्दा बढी टिभी प्रयोग गरिएको अवस्थामा थप शुल्क लाग्ने छ । एकभन्दा बढी टिभी थप्ने हो भने बेसिक प्याकेजमा मासिक २ सय २६, त्रैमासिक ७ सय ७८ र वार्षिक २ हजार ७ सय ११२ रुपैया थप्नु पर्नेछ । यसैगरी प्रिमियममा मासिक ५ सय ९, त्रैमासिक १ हजार ४ सय ४९ र वार्षिक ४ हजार ८ सय ८२ रुपैया“ थप्नु पर्नेछ । यो सेवा केही समयका लागि काठमाडौंभित्रका सिमित स्थानहरुमा उपलब्ध हुनेछ । जसअनुसार सुन्धारा, ठिमी, बबरमहल, चावहिल, बलम्बु, छाउनी, र गोंगबुमा उपलब्ध हुनेछ । त्यस्तै पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साललगायतका क्षेत्रहरुमा यो सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो सेवा लिनका लागि भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका उपभोक्ताले नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यो सेवा सञ्चालन गर्न एसटीबी (सेटअप बक्स) खरिद गर्नु पर्नेछ । उपत्यका बाहिर कम्पनीको फाइबर पुगेको स्थानमा यो सेवा पाइनेछ । अहिले काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, धनकुटा, झापा, मोरङ, सुनसरी, डोटी कैलाली, कञ्चनपर, धादिङ, बा“के र दाङ लगायतका केही जिल्लामा टेलिकमको फाइबर उपलब्ध छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार आइपीटिभी सेवा काठमाडौं उपत्यकाबाट सुरु भए पनि देशभरका ७७ वटै जिल्लामा विस्तार गर्दै लैजाने योजना छ । यो सेवालाई आक्रामक रुपमा विस्तार गर्दै लैजाने टेलिकमको लक्ष्य छ । के हो आइपिटिभी ? आइपिटिभी एक डिजिटल प्रविधि हो, जसले आइपि ट्रान्समिसन लिंकका आधारमा भिडिओ र टिभी हेर्ने सुविधा प्रदान गर्छ । यसलाई इन्टरनेट प्रोटोकल टेलिभिजनका रुपमा पनि बुझ्न सकिन्छ । पहिले एनालग ब्रोडकास्टका माध्यमबाट टिभी हेर्न सकिन्थ्यो भने अब इन्टरनेटका माध्यमबाट हेर्न सकिन्छ । आइपिटिभीले मोबाइलमै वा घरको टिभी उच्च गुणस्तरको टिभी वा भिडिओ सुविधा प्रदान गर्दछ । विश्वमा कतिपय देशहरुले आइपिटिभीमार्फत नै फोर के रिजोलुसनमा भिडिओ हेर्ने सुबिधा प्रदान गरिरहेका छन् ।
फटाफटकाे सेवा सुरु, कुनै पनि सामान किन्दा १५ प्रतिशत कर फिर्तासँगै छुटै छुट
काठमाडौं । जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार आएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्ने जनाएकाे छ । ‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइन मार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजना सहित फटाफट सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिनुकाे साथै शुन्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ । फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई कम्पनीले सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा सेवा सुरु गरेकाे बताए । अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौता अनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्ट बताउँछन् । छुटै छुट अफर अन्तर्गत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ । त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ । फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ । यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ । त्यस्तै फटाफट सेवा मार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको छ । यसका साथै ‘हट अफर’ अन्तरगत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ । ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन । यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफट सेवाबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैंयाको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिन्छ । उपभोक्ताले टेलिफोन मार्फत पनि फटाफटसेवामा उपलब्ध मोबाइल तथा सामानहरु अर्डर गर्न सक्ने छन् । “अनलाइन अर्डरका अलावा एक कल फोनको भरमा मोबाइल तथा अन्य सामान सेवाग्राहीको घरमा डेलिभरी गर्ने व्यवस्था गरेका छौं” फटाफट सेवाका अध्यक्ष श्रेष्ठले भने, “ग्राहकले सामान अर्डर गरेकै दिन डेलिभरी पाउने व्यवस्था गरिएको छ ।” यस्तै घर तथा कार्यालयबाट बिग्रेका मोबाइल संकलन गरी मर्मत गरेर डेलिभरी दिने सेवा पनि फटाफट सेवाले दिनेछ । यसबाट मोबाइल मर्मत गर्न प्रयोगकर्ता मर्मत केन्द्रसम्म पुग्नु नपर्ने विश्वास फटाफट सेवाले लिएको छ ।
एनटिटिभी सेवा सुरु गर्दै टेलिकम
काठमाडौं । नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो । तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जनाएको छ । हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकहरुले एनटिटिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट अप बक्स खरिद गर्नुपर्नेछ टेलिकमकाे अनुसार विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेभसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको टेलिकमले जनाएकाे छ ।