अब टेलिकमको आईएसडी सुविधा ग्राहक आफैले लिन सक्ने, यस्ता छन् प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि“००००” र सीडीएमए मोबाइलका लागि “१२३४” डिफल्ट पिन नम्बर हुने छ ।  जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै, आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN#  डायल गर्नु पर्नेछ । साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर त्यसका लागि कार्यालयमै सम्पर्क राख्नु पर्थ्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भए पछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

नेपालमा पहिलो पटक विश्वकप नेपाली मै प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । रुसमा अर्को साताबाट शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथीहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् । चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो । प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ । तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सञ्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बताएका छन् ।

नेपालमा भित्रियो स्मार्ट कार्ड बनाउने प्रविधि, लाइसेन्स वितरण गर्न छिटो हुने

काठमाडौं । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स वितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य हुने मालिका इन्कर्पोरेटले जनाएकोे छ । राजधानीमा एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास गरेका छन् । आफु प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए । उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा पनि जोड दिएका छन् । मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमाप्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो । यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।