प्रविधिमैत्री बन्दै खानेपानी समिति, अब इटहरीबासीले पनि इसेवाबाट महशुल भुक्तानी गर्न सक्ने
काठमाडौं । विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तीब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रविधिको प्रयोग गर्न थालेका हुन् । पछिल्लोपटक सुनसरीको इटहरीका उपभोक्ताले इसेवामार्फत् महशुल भुक्तानी गर्न सक्ने भएका छन् । इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो । नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त कम्पनी इसेवामार्फत् खानेपानीको महशुल अनलाईनमार्फत् भुक्तानी गर्न सकिने छ । अनलाइनबाटै महुशल तिर्न सकिने सेवा दिएपछि इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने, ‘हाम्रो संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो, अब इसेवामार्फत् भुक्तानी गर्न सकिने भएपछि उपभोक्तालाई निकै सहज भएको छ ।’अहिलेको युग प्रविधिको भएकाले आफुहरूले पनि प्रविधिको प्रयोग गरेर उपभोक्ता समितिलाई प्रविधिमैत्री बनाएको उनले बताए । यसैगरी संस्थाका आइटी अफिसर राजु दंगालले पनि इसेवामार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि कयौँ किलोमिटर टाढाबाट रकम भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म धाउनुपर्ने बाध्यताअन्त्य भएको बताए । उनले भने, ‘हामीले अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरेका छौं ।’ यसअघि भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी,कास्कीकोे लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानी, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् । समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ,भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिनेभएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । समितिहरू पनि प्रविधिमैत्री बन्दा कार्यालय व्यवस्थापन सहज हुनुका सथै पारदर्शी सेवा दिन सफल हुँदै गएका छन् । सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर ३० हजार बढी जोन प्वाइन्ट छन् । इसेवामार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स र बस टिकट, फिल्मका टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिन्छ ।
टेलिकमको जीएसएम मोवाइल सेवा सिन्धुपाल्चोकको विभिन्न स्थानमा, ४ हजार सेवाग्राही लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । कम्पनीले मंगलबारदेखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । अब ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् ।
कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात
काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।