टेलिकमको जिएसएम सेवा बाजुराको बाधु र बिच्छामा, ४ हजार घरधुरी लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामि कार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी-रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । त्यसैगरी, बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् । बाजुराको सदरमुकाम मार्तडीबाट बाधु र बिच्छासम्म बिटिएसका सामान पु¥याउनका लागि कठिन भौगोलिक बनावटका कारण केही भागमा ट्रयाक्टर र भरियाको प्रयोग गरिएको थियो । सदरमुकाम मार्तडीबाट बाधु पुग्न करिब दुई दिन र बिच्छा पुग्न करिब चार दिन लाग्छ । सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई/तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको हो । आगामी केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ । हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप यी दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।
‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण
काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं र पोखराबाट स्मार्टसेलको फोरजी सेवा सुरु, एक सेकेण्डमा एक पैसामा कल सुविधा
काठमाडौं । स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको सेवा फोरजी सुरु गर्ने भएको छ । अर्को महिनादेखि व्यवसायीकरुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको स्मार्ट सेलले भोलीदेखि परिक्षणका लागि सफ्ट लञ्च गर्नेछ । नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै स्मार्टसेल ग्राहकले भोलि आइतबारबाट काठमाडौं उपत्यकाभित्र र पोखरामा यो सेवा लिन सक्नेछन् । ३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठुलो दुर सञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । ३ करोड सेयर पूँजी रहेको स्मार्टसेलको वार्षिक कारोबार ५० करोड रुपैयाँ रहेको छ । ‘फोरजीका लागि प्राविधिक तयारी पुरा भएको छ, यद्यपी प्राविधिक पक्ष भएकाले हामी यसलाई थप कहि समय परिक्षणका रुपमा सञ्चालनमा ल्याउछौं,’ स्मार्टसेलका प्रमुख प्रशासकीय अधिकृत सजीनराज भण्डारीले भने । केही समयपछि नेपालगञ्ज, चितवन र विरगञ्जमा पनि फोरजी पुर्याउने योजना सहित नेटवर्क परिक्षण गरिरहेको स्मार्टसेलले जानकारी दिएको छ । पाँच महिनाअघि स्मार्टसेलले फोरजीको इजाजत (लाइसेन्स) प्राप्त गरेको थियो । कम्पनीका अनुसार फोर जी सञ्चालनका लागि १० मेगाहर्ज प्रयोग गरिएको छ, जसले नेपालमा अहिलेसम्मकै तिव्रगती ७० मेगाहर्ज प्रति सेकेण्डसम्मको फोरजी दिनेछ । अफर पनि स्मार्टसेलका ग्राहकले प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निशुल्क कल गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् । स्मार्टसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ७ दिनमा ५०० एमबी डाटा ८५ रुपैयाँमा प्रदान गर्ने जनाएको छ । साथै १ दिनका लागि ७५ एमबी डाटा १५ रुपैयाँमा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।