फोरजी सञ्चालनका लागि बाटो खुल्यो, सेवा प्रदायकले समय मागे, अक्टोवरदेखि सञ्चालन
काठमाडौं ४ साउन। दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी वाँडफाँड तथा मूल्य सम्वन्धि नीति २०७३ संसोधन सहित पारित भएको छ। अघिल्लो नीति लागु नहुँदै नयाँ नीति आएको हो। फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि १८ सय मेगाहर्जको व्याण्ड र थ्रिजीका लागि नौ सय मेगाहर्जको व्याण्डलाई प्रविधि तटस्थता गरेर सञ्चालन गर्नेगरी संसोधन सहित पारित गरेको हो। करिव पाँच महिनाको छलफल पछि नीति पारित गरेको जानकारी सञ्चार मन्त्रालयले दिएको छ । समितिले दुरसञ्चार सेवाका लागि पहिचान गरिएका सवै फ्रिक्वेन्सी व्याण्डहरुमा प्रविधि तटस्थताको नीति अवलम्वन गर्ने जनाएको छ। समितिले ग्रामिण दुरसञ्चार कोषको प्रयोग गरी देशभरी अप्टिकल फाइवरको नेटवर्क निर्माण तथा विस्तार गर्न तीनवटा प्याकेज बनाएर कार्य थालनी गर्ने भएको छ। अहिले बजारमा फोरजीको दौडमा टेलिकम, एनसेल र स्मार्ट टेलिकम रहेको प्राधिकरणले जनाएको छ। अरु कम्पनीहरुले फोरजीका लागि खासै चासो नगरेको जनाएको छ। दुरसञ्चार प्राधिकरणले फोरजीसेवाका लागि बाटो खुल्ला गरेसँगै सरोकारवाला निकायसँग छलफल गरेको बताएको छ। प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाएको थियो तर टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले जानकारी दिए। ‘टेलिकम र एनसेलले फोरजीका लागि आवश्यक सामाग्री आयात गर्नका लागि समय माग गरेका कारण फोरजी सेवा सञ्चालनका लागि ढिला भएको हो’ झाले भने ‘आगामि अक्टोवरदेखि नेपालमा फोरजी सेवा सुरु हुन्छ।’ प्राधिकरणको नयाँ नीतिमा दुरसञ्चार बजारको प्रतिस्पर्धी क्षमता हेरेर मर्जरमा जान सक्नेछन्। अरु देशको प्रयोग हेर्दा पनि नेपालजस्तो देशमा धेरै टेलिकम अपरेटरहरु रहन नसक्ने प्राधिकरणको ठहर रहेको छ। सञ्चारमन्त्री शेरधन राईले पनि नेपालमा धेरैमा तीनवटा अपरेटरको सम्भावना रहेको बताए। प्राधिकरणले बजारअनुकुल उपयुक्त आकारमा ल्याउन मर्जर र एक्विजिसन सम्वनुधि छ्ट्टै कानुनी व्यवस्था गर्ने जनाएको छ।
नेपाल टेलिकमको भिडियो कल तथा निशुल्क सिम वा रिम कार्ड अफर
काठमाडौं, २ साउन । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराएको छ । कम्पनीको मोबाइल नम्बर सिममा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो भिडियो कल सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । कम्पनीले आषाढ ३१ गते शुक्रबारदेखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकेको छ । कम्पनीका अनुसार बहिरा अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी ९० रुपैयाँमा ५० रुपैयाँको टक टाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिनेछ । त्यसैगरी कम्पनीले २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जिएस प्रविधिको प्रिपेड सिम वा सिडिएमए प्रविधिको रिम कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । कम्पनीले २०७३ श्रावण ३ गते देखि निःशुल्क सिम तथा रिम उपलब्ध गराउने भएको छ । जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको जुनसुकै कार्यलयमा सम्पर्क गर्न सकिले कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निःशुल्क सिम वा रिम कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुनेछ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
आइफोन ७ को मोडेल र फोटो लिक भयो, हेर्नुहोस मूल्यसहित तस्विर
काठमाडौं , ३१ असार । एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद्रा युआन ५ हजार २ सय ८८ अर्थात् ८४ हजार ६ सय रुपैयाँ पर्न आउँछ। यो नेपाली बजारमा उपलब्ध हुने मूल्य भने होइन। यस करहरु तथा डिलरले लिने कमिसन अतिरिक्त रहन्छ। ६५ जिवीको आइफोन सेभेनको मूल्य ६०८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ पर्नेछ। २ सय ५६ जिवीको लिने हो भने ७१ हजार १८ युआन यानि १ लाख १३ हजार ६ सय रुपैयाँ पर्नेछ। आइफोन ७ प्लसको ३२ जिवीको मूल्य ६ हजार ८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ र १ सय २८ जिवीको र २ सय ५६ जिवीको क्रमश: ६८८८ युआन (१ लाख १० हजार २ सय रुपैयाँ) र ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) पर्ने जनाइएको छ। तेस्रो र सबैभन्दा महँगो मानिएको आइफोन सेभेन प्रोको ३२ जिवीको मूल्य ७०८८ युआन (१ लाख १३ हजार ७ सय रुपैयाँ), १ सय २८ जिवीका लागि ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) र २५६ जिवीका लागि ८८८२ (१ लाख ४२ हजार २ सय रुपैयाँ) पर्नेछ। हरेक वर्ष एप्पलले जारी गर्ने स्मार्टफोनको मूल्यसँग यसपाला लिकेज भएको मूल्य सूची मिल्दो छ। आइफोन ७ बारे लिक भएको सूचनाअनुसार यसमा होम बटन र ३.५ एमम हेडफोन ज्याक रहने छैन। वाटरप्रुफ च्यासिस रहने अपेक्षा गरिएको छ भने आइफोन ७ प्लसमा डुअल क्यामरा इमेजिङ सिस्टम रहने अपेक्षा गरिएको छ। र यसमा ३ जिवी र्याम रहने बताइएको छ।