एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
काठमाडौं, ३२ जेठ । एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । नाईट एसएमएस प्याक असार १० बाट लागु भई ३ महिनाको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । “बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”
एनसेलद्वारा नागरिकको संचारमा पहुँच र प्रयोगको आधारभूत अधिकारको सम्मान गर्न आग्रह
काठमाडौं, ३१ जेठ । एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ । संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएका छन् । यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको छ । “हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पु¥याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने । एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ । “अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्ने प्रयास भईरहेको छ । यस क्रममा धैर्यधारण गरी सहयोग प्रदान गरिरहनु भएकोमा हामी आभार तथा धन्यवाद व्यक्त गर्दछौं,” भट्टचनले भने । बेस स्टेशन जस्ता दूरसंचार पूर्वाधारको सुरक्षाका लागि थप सुरक्षाको व्यवस्थापन गरिरहेको एनसेलले जनाएको छ । कम्पनीले सरकारलाई अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न अनुरोध गरेको छ । “हामीले घटनाका विवरण लगायतका जानकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य सरकारी निकायलाई दिईसकेका छौं । साथै सरकारबाट प्राप्त सहयोगको प्रतिबद्धताकालागि आभार पनि व्यक्त गर्दछौं,” भट्टचनले भने । साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ । टावरमा भएको क्षतिको विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाउँदै एनसेलले यि घटनाले के कति क्षति भयो अहिले यकिन भईनसकेको जनाएको छ । एनसेलले १ करोड ४० लाख ग्राहकलाई मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ ।
गत वर्षको तुलनामा साइबर अपराध दोब्बर
काठमाडौं, ३० जेठ । साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ जुन आव ०७१/०७२ का तुलनामा दोब्बरभन्दा बढी हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिए । उनले भने, “साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।” फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताए । महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताए । रासस