टेलिकमको भन्दा एनसेलको आम्दानी ३५ प्रतिशत धेरै, राजश्व १०७ प्रतिशत बढि

काठमाडौं, २० फागुन । कारोबार रकम, थप लगानी र राजश्वमा योगदानका आधारमा नेपाल टेलिकमभन्दा एनसेल धेरै अगाडि देखिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार टेलिकमले भन्दा एनसेलले ३५ प्रतिशत बढी आम्दानी गरेको छ । त्यस्तै टेलिकमको भन्दा एनसेलले थप लगानी २० अर्ब ६८ करोडले बढी गरेको छ । राजश्वमा पनि टेलिकमले भन्दा एनसेलले १०७ प्रतिशतले बढी योगदान गरेको छ । ग्राहक संख्या पनि टेलिकमको भन्दा एनसेलको बढी छ । ९५ प्रतिशत सेयर सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम सबैभन्दा पूरानो कम्पनी हो । करिव ५ दशकसम्म दुरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एकाधिकार थियो । एनसेल निजी लगानीमा खुलेको पहिलो टेलिकम कम्पनी हो, जसमा ८० प्रतिशत सेयर विदेशी लगानी रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा एनसेलले ५५ अर्ब ५६ करोड ९३ लाख आम्दानी गरेको छ । सोही अवधिमा नेपाल टेलिकमले जम्मा ४१ अर्ब १८ करोड १५ लाख रुपैंयाँ मात्रै आम्दानी गरेको देखिन्छ । गत बर्ष एनसेलले टेलिकमको भन्दा १४ अर्ब ३८ करोड ७८ लाख अर्थात ३४ दशमलब ९३ प्रतिशतले बढी आम्दानी गर्न सफल भएको हो । एनसेलले बिभिन्न शिर्षक अन्तरगत २८ अर्ब ८ करोड राजश्व बुझाउँदा नेपाल टेलिकमलले भने जम्मा १३ अर्ब ५२ करोड ६० लाख मात्रै राजश्व बुझाएको छ । यो राजश्व टेलिकमले बुझाएको भन्दा १४ अर्ब ५६ करोड अर्थात १०७ प्रतिशतले बढी हो ।सो अवधीमा नेपाल टेलिकमले जम्मा १२ अर्ब ४६ करोड थप लगानी गरेको छ भने एनसेलले ३३ अर्ब १४ करोड लगानी थपेको देखिन्छ । नेपाल टेलिकमले पाँच हजार ९४ जनालाई रोजगारी दिएको छ भने एनसेलले ५ सय २२ जनालाई रोजगारी दिएको छ । एनसेलको ग्राहक संख्या एक करोड ५३ लाख रहेका छन भने टेलिकमको जम्मा एक करोड २९ लाख रहेको छ ।

टेलिकमका प्रबन्ध निर्देशकलाई मन्त्रीको प्रश्नः गुणस्तर कहाँ कहाँ सुध्रियो ?

काठमाडौं, १२ फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई मोबाइल सेवाको गुणस्तर सुधारबारे दर्जनौं प्रश्न गरेका छन् । टेलिकमको १२ औं बार्षिकोत्सवका अवसरमा दुई महिना भित्र गुणस्तर सुधार्न दिएको अल्टिमेटपछि कहाँ कहाँ गुणस्तर सुध्रियो भन्दै मन्त्री राईले प्रबन्ध निर्देशकसहितको टोलीलाई मन्त्रालयमै बोलाएर प्रश्न गरेका हुन् । मन्त्री राईले बार्षिकोत्सव समारोहमा दुई महिना भित्रै गुणस्तर सुधार नगरे बाहिरबाट प्राबिधिक टोली गठन गरेर छानबिन गर्ने चेतावनी दिएका थिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहित उच्च अधिकारीहरुलाई मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेको भन्दै सबै उपाय अबलम्बन गरेर सेवा सुधार गर्न निर्देशन दिनुभएको हो । आफ्नो सोही २ महिने अल्टिमेटम स्मरण गराउदै राईले टेलिकम पदाधिकारीहरुसँग यसबीचमा सेबा सुधारका लागि भएका प्रयासहरुको जानकारी लिएका हुन् । सोही अवसरमा मन्त्री राईले मोबाइल सेवाको गुणस्तर सुधारबारेमा एक साताभित्रै सुधारको अनुभूति हुने गरि प्रबिधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्रालयका निमित्त सचिव एकनारायण अर्याल सहितको छलफलमा मन्त्री राईले तत्काललाई काठमाडौं उपत्यकालाई क्लस्टर बिभाजन गरेर भने पनि एक महिनाभित्र पूर्ण रुपमा सुधारको अनुभूति ग्राहकलाई हुनुपर्ने बताए । सञ्चार मन्त्री राईले देशका सबै भूभागमा टु जी बिस्थापित गरि थ्री जी सेबा बिस्तार गर्ने र फोर जीमा जाने योजना टेलिकमसँग मागेका थिए । गत साता टेलिकमको जिएसएम मोबाइल सेबा केही बेरसम्म सम्पूर्ण रुपमा अबरुद्ध भएको घटना गम्भिर रहेको भन्दै मन्त्री राईले कमी कमजोरी कहाँबाट भएको हो छानविन गरेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन समेत दिए । प्रतिस्पर्धी बजारमा बिभिन्न समस्या देखाएर टेलिकमको सेबा कमजोर बनाउने कुरा स्वीकार्य नहुने उनले बताए । ‘लोडसेडिङ राष्ट्रको समस्या हो,इन्धन चाहिए तत्काल म मिलाइदिन्छु तर उर्जा समस्या देखाएर टेलिकमको सेबामा सम्झौता गर्न सकिन्न’ मन्त्री राईले भने । मन्त्री राईले ग्राहकका गुनासो सुन्ने,अनुगमन गर्ने र सेबा सुधार गर्ने प्रतिबद्धता सहित काम गर्न टेलिकम व्यवस्थापनलाई निर्देशन समेत दिए । टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावरहरु डाउन हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिएका थिए । मन्त्री राईको निर्देशनपछि २ महिनाभित्र अनुभूति हुने गरि सुधार ल्याउन युद्धस्तरमा काम भइरहेको समेत आचार्यले स्पष्टीकरण दिएका थिए । सोही अनुसार काठमाडौंको छाउनी,कपन,पाटन,नैकाप र गोंगबु क्षेत्रमा ट्रान्समिसन सम्बन्धी काम सम्पन्न भइसकेको र १५ दिनभित्र बलम्बु,किर्तिपुर,नगरकोट,पुलचोक,ग्वार्को र सैबु लगायतका क्षेत्रमा पनि सो काम गरि मोबाइल सेवालाई प्रभावकारी बनाउने काम भइरहेको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

नेपालबाट भारत फोन गर्दा २ रुपैंयाँ ९९ पैसा तर भारतबाट नेपाल फोन गर्दा १९ रुपैंयाँ किन ?

दिगम्बर झा, अध्यक्ष– नेपाल दुर सञ्चार प्राधिकरण टेलिकम क्षेत्रमा खुल्ला बजार नीति, निजी क्षेत्रको प्रवेश र विदेशी लगानी भित्र्याउने क्रम सुरुभएसँगै निकै सुधार भएको छ । दुर सञ्चार प्राधिकरणले प्रबिधीमा भएको विकासको फाईदा जनताले उठाउन पाउनु पर्छ भन्ने सोचेको छ । नेपाल टेलिकमका प्रबिधी तर्फका कर्मचारीले प्रबिधिमा बिशेष ध्यान दिनु पर्छ । एसियाका लागि भिओआईपी ठुलो समस्या छ । ६ महिना अघि हामीले गरेको अध्ययनले नेपालमा भिओआईपी १० प्रतिशत भन्दा कम हुने गरेको देखाएको थियो । बंगलादेशमा यो ७० प्रतिशत भन्दा बढि हुने गरेको छ । हामीले १० प्रतिशत भन्दा कमलाई पनि अझै घटाउन सक्छौं । हामीले विदेशबाट आउने कलको टर्मिनेशन चार्ज घटाउन सकियो भने भिओआईपीको ग्रे मार्केट आफैं बिलाउँछ । नेपालबाट भारत फोन गर्दा २ रुपैंयाँ ९९ पैसा तर भारतबाट नेपाल फोन गर्दा १९ रुपैंयाँ भन्दा बढि किन ? १२ रुपैंयाँ आईसी तिरेर भारतमा रहेका नेपालीहरुले फोन गर्नु पर्ने किन ? हामीले भारतीय पक्षसँग कुरा गर्दा बल नेपालकै कोर्टमा छ भनेको छ । नेपालका कम्पनीले भारतीय सर्भर प्रयोग गरेवापतको सर्भिस चार्ज जम्मा शुन्य दशमलब ६ रुपैंयाँ लिँदा रहेछन् । तर भारतीय कम्पनीले नेपाली सर्भर प्रयोग गर्दा भने १० गुणा बढि शुल्क लिईरहेका रहेछन् । यस्तो पनि हुन्छ कहिँ ? भारतबाट नेपाल आउने ९० प्रतिशत फोन नेपालीले नै गरेका हुन्छन् । शुल्क घटाउने हो भने नेपालीलाई नै फाईदा छ । टेलिकमले यसबारे सोचे राम्रो हुन्छ । पुराना प्रबिधलाई पालेरै राख्नु पर्छ भन्ने छैन् । नयाँ प्रबिधीलाई अपनाउनुस । हामीले पुर्वाधार सह प्रयोगको निती अघि सारेका छौं । यसले एउटै टावरको धेरै कम्पनीले प्रयोग गर्न सक्छन् । यसले लागत घटाउन र गुणस्तर बढाउन सहयोग गर्छ । नेपाल सरकार पुर्वाधार प्रवद्र्धन समितिले यस्तो निर्णय गरिसकेको छ ।नेपाल टेलिकमसँग धेरै पुर्वाधार छन् । त्यसको प्रयोगद्धारा कम्पनीका लागि आम्दानीको नयाँ स्रोत बन्न सक्छ । फ्रिक्वेन्सी भनेको राज्यका लागि आम्दानीको श्रोत पनि हो । नेपाल टेलिकमले फ्रिक्वेन्सीको उचित सदुपयोग गर्न सकेन् । त्यसमा नेपाल टेलिकमल चुकेको छ । हामीले त तुलना गर्छाै । एनसेलले सबै ब्याण्ड मिलाएर जम्मा २९ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ । त्यति फ्रिक्वेन्सीमा एनसेलले राज्यलाई ५५ अर्ब राजश्व दिएको छ । नेपाल टेलिकमलाई ७२ दशमलब ६ मेगाहर्ज फ्रिक्वेन्सी दिएका छौं तर जम्मा ३४/३५ अर्ब राजश्व मात्रै तिरिरहेको छ । कम्पनीले फ्रिक्वेन्सीको अधिकतम सदुपयोग गर्नु पर्यो । फाल्तु भएका फ्रिक्वेन्सी किन राखिराख्ने कि त फिर्ता गर्नु पर्यो । होइन भने त्यसलाई अधिकतम उपयोग गर्नु पर्यो । ६ वटा कम्पनीमध्ये नेपाल टेलिकम दोश्रो नम्बरमा छ । एक नम्बरमा किन नआउने ? टेलिकमको सम्भावना भनेको एक नम्बरको कम्पनी हुने हो । प्राधिरणले जुनसम्ममा फोरजी र ८जी खुल्ला गर्दैछौं । त्यसको प्रयोगका लागि कम्पनीहरुले तयारी गर्नु पर्छ । हामीले अप्टिकल फाईबर पनि बिछ्याउने योजना बनाएका छौं । त्यसका लागि ग्रामिण दुर सञ्चार कोषको रकम छुट्याउँदैछौं । त्यो टेलिकमले नै प्रयोग गर्ने हो । त्यसको प्रयोगको मोडालिटी पनि बनाउनु पर्छ । गुणस्तरको सवाल हेर्ने हो इन्धनको सहज आपुर्ति नहुँदासम्म गुणस्तरिय सेवा चाहियो भन्ने अवस्था छैन् । तर सामान्य अवस्थामा भने गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।