आरोग्य पर्यटनमा नेपाल हब बन्ने सम्भावना उच्च, निजी क्षेत्र उत्साहित
काठमाडौं । सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउने योजना अघि सारेको छ । यो विषयमा सरकारले तीव्र गतिमा नीतिगत पहलहरू अघि बढाएको भन्दै पर्यटन व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले भर्खरै सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० बुँदे कार्यसूचीमा उक्त योजना समेटेको छ । यसका साथै सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउँदै सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’का रूपमा मनाउने निर्णयसमेत गरिएको छ । पूर्वीय दर्शन, ध्यान, योग तथा प्राकृतिक चिकित्साजस्ता क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित सरकारले १५ दिनभित्र आरोग्य पर्यटनसम्बन्धी रणनीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको नेतृत्वमा आवश्यक रणनीति तथा कार्ययोजना निर्माणसमेत भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको प्रमुख एजेन्डाका रूपमा अघि सारिएकोमा खुसी व्यक्त गरे । ‘यसले नेपाललाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,’ अध्यक्ष शाहले भने । अध्यक्ष शाहले ‘नेपाल विश्वकै उत्कृष्ट आरोग्य पर्यटन केन्द्र बन्ने सम्भावना बोकेको देश’ भएकोले सरकारले अघि सारेको यो कदम निकै नै सकारात्मक रहेको औंल्याए । नेपालको आरोग्य पर्यटन पूर्वीय दर्शन, योग, ध्यान तथा प्राकृतिक उपचार पद्धतिमा आधारित रहेको उल्लेख गर्दै शाहले यसलाई प्राचीन ऋषि–मुनिहरूको ज्ञान र वेदमा वर्णित जीवनशैलीसँग जोडेर प्रवर्द्धन गर्न सकिने बताए । त्यस्तै, उनले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई ‘आरोग्य दिवस’का रूपमा मनाउन थालेको विषयलाई पनि सकारात्मक उपलब्धि भएको उल्लेख गरे । साथै उनले सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ घोषणा गर्ने तयारीलाई निजी क्षेत्रले स्वागत गरेको बताए । ‘सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ भनेर घोषणा गर्ने कुरालाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ अध्यक्ष शाहले भने । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नेपालमा आरोग्य पर्यटनको सम्भावना अत्यन्तै उच्च रहेको बताउँछन् । उनका अनुसार प्राकृतिक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले नेपाल भारतभन्दा पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने थुप्रै आधारहरू छन् । ‘आरोग्य पर्यटनको स्कोप धेरै राम्रो छ, भारतको भन्दा पनि राम्रो छ,’ उनले भने, ‘नेपालमा तपोभूमि, विभिन्न मठ–मन्दिर जस्ता धार्मिक स्थलहरू छन्, जहाँ मानिसहरूले आध्यात्मिक शान्ति र स्वास्थ्य लाभ दुवै प्राप्त गर्न सक्छन्।’ पाण्डेले विगतमा योजना बने पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रति भने दुःख व्यक्त गरे । ‘विगतका सरकारले यसलाई प्राथमिकतामा राखेनन्, जसका कारण सम्भावना हुँदाहुँदै पनि क्षेत्र अगाडि बढ्न सकेन,’ उनले भने । तर नयाँ सरकारले सुरुवातदेखि नै यस विषयलाई प्राथमिकतामा राख्दै अघि बढाउन खोजेकाले अब कार्यान्वयन हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ । के पूर्वाधार पर्याप्त छन् ? सरकारको स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रसँगको सहकार्यले नेपाललाई आरोग्य पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार आरोग्य पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास नेपालमा भइसकेको छ । हानका अध्यक्ष शाहका अनुसार नेपालका अधिकांश ठूला होटल तथा रिसोर्टहरूमा फिटनेस सेन्टर, योग, ध्यान, स्पा र जिमजस्ता सुविधा उपलब्ध छन् । ‘आरोग्य पर्यटनको लागि आवश्यक पूर्वाधार रहेकोले उचित नीति–नियम र समन्वय भएमा आगामी पाँच वर्षभित्रै यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं,’ अध्यक्ष शाहले भने । टानका अध्यक्ष पाण्डेका अनुसार नेपालमा आरोग्य पर्यटन लक्षित छुट्टै रिसोर्ट वा होटलहरूको विकास अझै हुन सकेको छैन । व्यावसायिक रूपमा यस्तो पूर्वाधार विकास गर्नु आवश्यक रहेको पाण्डे औंल्याउँछन् । आरोग्य पर्यटनका लागि शान्त, एकान्त र प्राकृतिक वातावरण अनिवार्य हुने बताउँदै उनले यस्तो विशेषतायुक्त गन्तव्य निर्माणमा सरकार र निजी क्षेत्र दुवै मिलेर लाग्नु पर्ने बताएका छन् । थप प्रचार–प्रसार बढाउँदै पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आरोग्य पर्यटन प्रवर्द्धनका लागि नेपालले ‘माइन्ड, बडी र सोल’ शुद्धीकरणको अवधारणामा आधारित अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिरहेको जानकारी दिए । उनका अनुसार नेपालको प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक विशेषताले यस क्षेत्रमा विशिष्ट पहिचान बनाउन सहयोग पुर्याएको छ । निर्देशक ऐरले भने, ‘नेपालमा योग, विपश्यना, आयुर्वेद र स्पाजस्ता सेवा–सुविधाहरू अहिले चारतारे र पाँचतारे होटलहरूमा उपलब्ध भइसकेका छन्, जसले आरोग्य पर्यटनको आधार तयार भइसकेको छ ।’ ऐरका अनुसार खप्तड राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरको योग केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । तर सरकारी वन ऐनका कारण निजी क्षेत्रलाई जमिन लिजमा उपलब्ध गराउन कठिनाइ रहेको उनले जानकारी दिए । ‘चन्द्रागिरि हिल्स जस्ता सफल परियोजनाका लागि जस्तै मोडल यहाँ पनि आवश्यक हुन्छ,’ उनले भने । उनले हालसम्म आरोग्य पर्यटनका लागि मात्रै नेपाल आउने पर्यटकहरूको छुट्टै तथ्याङ्क (डेटाबेस) नभएको स्वीकार्दै भविष्यमा यस्तो ‘सेग्मेन्टेसन’ गर्ने योजना रहेको जानकारी दिए । सन् २०२७ लाई ‘वेलनेस टुरिजम वर्ष’ का रूपमा मनाउने तयारी भइरहेको र त्यसका लागि आवश्यक रणनीति निर्माणमा पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहयोग गर्ने उनले बताए । पर्यटन बोर्डले मुख्य रूपमा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र ‘फ्यासिलेटर’ का रूपमा भूमिका निर्वाह गर्ने लक्ष्य राखेको ऐरले स्पष्ट पारे ।
वनस्पति अध्ययन मात्र होइन, अब घुमफिरको गन्तव्य पनि बन्यो वृन्दावन उद्यान
बागमती । हेटौँडा उपमहानगरपालिका–१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रद्वारा संरक्षित वृन्दावन वनस्पति उद्यानमा अध्ययन, भ्रमण र अवलोकनका लागि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारण पछिल्लो समय सो उद्यानमा अध्ययन, अवलोकन र भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हेटौँडा–१२ पदमपोखरी निवासी सुमन लामाले बताए । 'पहिलापहिला यहाँ वन विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थीमात्र आउँथे', लामाले भने, 'तर अहिले विद्यार्थीसँगै घुम्ने र सुन्दर बगैँचाको अवलोकन गर्ने पर्यटकसमेत आउन थालेका छन् ।' वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ । 'अहिले दैनिक ५० देखि १०० जनासम्म पर्यटक वनस्पति उद्यानभित्र घुम्ने गरेका छन्', वनस्पति अनुसन्धान केन्द्रका कर्मचारी जयराम दाहालले भने, 'शनिबार र सार्वजनिक बिदाको दिन भने २०० देखि ३०० सम्म पर्यटक आउने गर्दछन् । अध्ययनसँगै वनस्पतिभित्र घुमफिर गर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरूको बढी आकर्षण देखिन्छ', उनले भने । वनस्पतिभित्र आउने पर्यटकहरूका लागि टिकटको व्यवस्थापन गरिएको छ । वनस्पति क्षेत्रमा अध्ययन र अवलोकन गर्न आउने नेपाली विद्यार्थीका लागि रु १० र बाह्य देशका विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको छ । प्रमुख पौडेलका अनुसार वनस्पतिभित्र घुम्न आउने आन्तरिक पर्यटकका लागि रु २५, सार्क राष्ट्रका पर्यटकका लागि रु १०० र अन्य मुलुकका पर्यटकका लागि रु २५० तोकिएको छ । केही समयअघिसम्म उद्यान वन विज्ञान (फरेस्टी), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बनेको सो केन्द्र अहिले हरेक किसिमका पर्यटकको आकर्षण बढेको छ । उद्यानभित्र गत २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको छ । वनस्पतिभित्र घुम्न आउनेलाई लोभ्याउन उद्यानभित्र नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउन करिब एक हेक्टरभन्दा बढी जग्गामा सम्मानित वृक्षरोपण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख हरिराज पौडेलले बताए । 'वनस्पति उद्यानभित्र खाली रहेको जग्गामा रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, बर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कमद, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप, तेजपात, अङ्गस्ती, दार, दर्रो, इमली, सुगन्ध कोकिलालगायत बिरुवा रोपेका छौँ', प्रमुख पौडेलले भने, 'उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित छन् ।' जिल्लाभित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिको हर्वरियम नमूना संरक्षित गर्ने कार्य हामीले गर्दै आएका छौँ, प्रमुख पौडेलको भनाइ छ । वनस्पति अनुसन्धान केन्द्र हेटौँडाअन्तर्गत तीनवटा वनस्पति उद्यान छन् । जसमध्ये हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा ४१५ प्रजाति, टिस्टुङ वनस्पति उद्यानमा २०५ र पर्वतीय उद्यान दामनमा २०८ प्रजातिका वनस्पति संरक्षण गरिएको प्रमुख पौडेलले बताए । वनस्पति अध्ययन केन्द्रले विभिन्न आदिवासी तथा जनजातिले प्रयोग गर्दै आइरहेको वनस्पतिको अभिलेखीकरण गर्ने, वनस्पति प्रयोग र संरक्षणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्री प्रकाशन गरी वितरण गर्ने, नयाँ वनस्पतिको खोज र अनुसन्धान गर्ने, पर्यापर्यटन अभिवृद्धि गर्नेलगायत कार्य गर्दै आएको प्रमुख पौडेलले बताए । उनका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति सम्पदाको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान गर्ने, वनस्पतिको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने र जडीबुटीको बिरुवा उत्पादन तथा वितरण गर्ने दायित्व पूरा गर्दै आएको छ । अहिले आफूहरू जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटीखेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख पौडेलको कथन छ । दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थामा रहेका महत्त्वपूर्ण जडीबुटीसम्बन्धी समसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटीखेतीतर्फ आकर्षित गर्ने योजना बनाएर अघि बढ्को प्रमुख पौडेलले बताए । रासस
कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन, १० किलोमिटर पार गर्न डेढ घण्टा लाग्ने
काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा ‘र्याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँ पुल खण्डमा र्याफ्टिङको शुभारम्भ गरे । र्याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरादेखि सवारीमा २ घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ,’ उनले भने । फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्याफ्टिङ गर्न १ घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्याफ्टिङको प्रवर्द्धन गरेको थियो । एक पटकमा एउटा बोटमा ८ जनाले र्याफ्टिङ गर्न सक्ने र्याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए । विदेशी पर्यटकका लागि नयाँ पुलदेखि गुल्मीको रिडीसम्म ३ दिनको र्याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ । कात्तिक र चैत महिना र्याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जल यात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका वस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।