कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन, १० किलोमिटर पार गर्न डेढ घण्टा लाग्ने

काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँ पुल खण्डमा र्‍याफ्टिङको शुभारम्भ गरे । र्‍याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्‍याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरादेखि सवारीमा २ घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ,’ उनले भने । फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्‍याफ्टिङ गर्न १ घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो । एक पटकमा एउटा बोटमा ८ जनाले र्‍याफ्टिङ गर्न सक्ने र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए ।  विदेशी पर्यटकका लागि नयाँ पुलदेखि गुल्मीको रिडीसम्म ३ दिनको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ । कात्तिक र चैत महिना र्‍याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जल यात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका वस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

यूरोनेपाल ट्राभलद्वारा पोर्चुगलमा दक्षिण एसियाली लक्षित सस्तो हवाई टिकट सेवा सुरु

काठमाडौं । पोर्चुगलमा बसोबास गर्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपाल, भारत र बंगलादेशसहित विश्वका विभिन्न गन्तव्यका लागि टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत यात्रुहरूले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उडान टिकट प्राप्त गर्न सक्नेछन् । 'जहाँ हरेक यात्रा विश्वासबाट सुरु हुन्छ' भन्ने नारासहित कम्पनीले ग्राहक सेवा, विश्वसनीयता र सहज पहुँचलाई प्राथमिकतामा राखेको निर्देशक निरज गोतामेले जानकारी दिए । निर्देशक गोतामेका अनुसार उनी लामो समय डेनमार्कमा इकोनोमिक्समा मास्टर अध्ययन पूरा गरी पोर्चुगल आएर उक्त व्यवसाय सुरु गरेका हुन् । विदेशमा अध्ययन र अनुभव हासिल गरेपछि दक्षिण एसियाली समुदायलाई लक्षित सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए । यूरोनेपाल ट्राभलको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ प्रक्रिया सहज बनाइएको छ । विभिन्न एयरलाइन्सका उडान विकल्पहरू एकै ठाउँबाट उपलब्ध गराउँदै यात्रुहरूलाई आफ्नो आवश्यकता अनुसार विकल्प छनोट गर्न सक्ने सुविधा दिइएको कम्पनीले जनाएको छ । लिस्बनको आर बाराउँ दे साब्रोसा क्षेत्रमा रहेको कार्यालयबाट सञ्चालन भइरहेको यस सेवाले एयर टिकटिङसँगै होटल बुकिङ, टुर प्याकेज, व्यक्तिगत यात्रा योजना निर्माण, भिसा सेवा तथा डकुमेन्टेसनजस्ता सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले २४/७ ग्राहक सहायता, अनलाइन तथा फोनमार्फत बुकिङ सुविधा उपलब्ध गराएको छ, जसले यात्रुहरूलाई अझ सहज र छिटो सेवा प्राप्त गर्न मद्दत पुर्‍याउने बताइएको छ । पछिल्लो समय पोर्चुगलमा नेपाली, भारतीय तथा बंगलादेशी समुदायको संख्या बढ्दै गएको सन्दर्भमा यस्तो लक्षित सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । विशेषगरी विदेशमा रहेका श्रमिक तथा विद्यार्थीहरूका लागि सस्तो र भरपर्दो टिकट सेवाले यात्रा व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ । निर्देशक गोतामेले इच्छुक यात्रुहरूलाई सिधै सम्पर्क गरी आफ्नो यात्रा योजना अनुसार टिकट बुक गर्न आग्रह गरेका छन् । यस पहलले पोर्चुगलस्थित दक्षिण एसियाली समुदायको यात्रा आवश्यकतामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।  

झापामा वाटर किङडम पार्क खुल्दा पर्यटन र रोजगारीमा आशा

झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।      स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।  'अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ', पार्कका सञ्चालक सङ्ग्रौलाले भने, 'पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्‍याउने विश्वास लिएका छौँ ।'      सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् । 'कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । आफूहरूले हार नमानी पुनरुत्थानमा लागेका छौँ', उनले भने ।      पार्कमा परिवारसहित आएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राखे । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उनले बताए ।      स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गरे ।      सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताए । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उनले जानकारी दिए । रासस