सगरमाथाबाट मात्रै १ अर्ब बढी रोयल्टी संकलन, अन्य हिमालबाट कति उठ्यो ?

काठमाडौं । सन् २०२६ को मार्च १ देखि अप्रिल ३० सम्ममा हिमाल आरोहीबाट १ अर्ब १६ करोड ९१ लाख ४४ हजार रुपैयाँ बराबरको रोयल्टी जम्मा भएको छ । २९ हिमालमा आरोहण अनुमति लिएका आरोहीबाट सो रकम संकलन भएको हो । विभागका अनुसार १ हजार ५० जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् । जसमा १२५ समूहबाट ७९४ पुरुष र २५६ महिला छन् । पछिल्लो समय सगरमाथा आरोहण गर्ने आरोहीको संख्या बढ्दै गएपछि रोयल्टी रकम पनि बढ्दै गएको छ ।   सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब १ करोड २८ लाख २३ हजार रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि ४७ आरोही समूहबाट ४६४ जना त्यसतर्फ गएका छन् । जसमध्ये ३६४ जना पुरुष र एक सय जना जना महिला छन् । ल्हाेत्से हिमालबाट ४ करोड ९७ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । उक्त हिमालमा ९ आरोही समूहबाट १११ जनाले अनुमति पाएका छन् । जसमा ७८ जना पुरुष र ३३ जना महिला छन् ।  मकालु हिमालबाट २ करोड ७२ लाख ३९ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । उक्त हिमालमा आरोहणको लागि १० आरोही समूहबाट ६२ जनाले अनुमति लिएका छन् । जसमा ४४ पुरुष र १८ महिला छन् ।  कञ्चनजंघा हिमालबाट १ करोड ६० लाख रुपैयाँ संकलन भएकाे छ । उक्त हिमालमा आरोहणको लागि ४ समूहबाट ३६ जनाले अनुमति पाएका छन् ।  धौलागिरी हिमालबाट १ करोड ३४ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणको लागि ४ आरोही समूहबाट ३० जनाले अनुमति पाएका छन् । जसमा १८ पुरुष र १२ जना महिला छन् । त्यस्तै आमदवलामबाट १ करोड ३७ लाख रुपैयाँ, अन्नपूर्ण हिमालबाट १ करोड २० लाख रुपैयाँ, अन्नपूर्ण (आईभी) बाट १९ लाख १८ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । अन्य हिमालहरूमा चुलु फार इस्टबाट ६ लाख २१ हजार रुपैयाँ, सारीबुङबाट ९ लाख ३५ हजार रुपैयाँ, थ्रोङ पिकबाट ७ लाख २७ हजार रुपैयाँ, नुप्से हिमालबाट ७७ लाख ६३ हजार रुपैयाँ, हिमलुङ हिमालबाट ३ लाख ७२ हजार रुपैयाँ, मनास्लु हिमालबाट ४ लाख ५४ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । 

हवाई इन्धन महंगिँदा निजी वायुसेवा संकटमा, सरकारसँग मागे राहत

काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेसँगै सेवा सञ्चालन गर्न समस्या हुन थालेको बताएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै संकटमा सहुलियत दिनुपर्ने माग गरेका हुन् । संघका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार कोभिड–१९ पछि विस्तारै माथि उठेको पर्यटन क्षेत्र गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्व मा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्याधिक बढेको छ । एकातिर आन्तारिक तथा बाह्य पर्यटकको संख्यामा कमी अर्कोतिर अत्यधिक इन्धन मूल्यवृद्धिले व्यवसाय सञ्चालन गर्न धौधौ भएको अध्यक्ष पाण्डेले बताए ।  ‘इन्धनको मूल्यवृद्धिले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा आवश्यक सहुलियतको व्यवस्था मिलाइदिन हामीले सम्बन्धित सरोकारवालासँग माग गरेका हौं,’ उनले भने । संघका अनुसार वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलको हिस्सा ५५–६० प्रतिशत पुगेको छ । 

होटल संघ नेपाल र भारतीय पर्यटन व्यवसायीबीच २५ भन्दा बढी सेवा सम्झौता

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भारत गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको संघले जनाएको छ ।   संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा यही वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरू प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठकहरूको आयोजना गरिएको थियो ।  कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ । नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यवसायिक भेटघाट गरेका थिए ।  गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टूर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।