पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के–के छ व्यवस्था ?

काठमाडौं । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरूपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो ।  खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरूसम्म उल्लेख गरिएको छ ।  पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्यूनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाइसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ ।  त्यस्तै, तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिनभन्दा बढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ ।  मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि.मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ।  पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाइ पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ । पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ ।  हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भाैगोलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।  पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ ।   पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा  खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ ।   आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ । 

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको बिहीबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो ।      पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।      यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए ।      हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए ।       रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।       मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए ।      पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो । रासस

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पद मार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । ‘गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो । केही वर्ष अघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ,’ उनले भने ।  ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझ खर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो ।  स्थानीयले चन्दा सङ्कलन गरेर माझ खर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख रुपैयाँ सङ्कलन भएको थियो ।  गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।  यसैगरी, मङ्गला गाउँपालिका-५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट २ हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ ।